• १३ साउन २०८१, आइतबार

लय समाउँदै पोखराको पर्यटन

blog

सन्तोष सुवेदी

कास्की, जेठ ४ गते । पछिल्लो समय पोखरामा भारतीय पर्यटकको सङ्ख्या बाक्लो हुन थालेपछि चहलपहल बढेको छ । दुई वर्ष कोभिड–१९ ले थला परेको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कन खोजिरहेको पर्यटन व्यवसायीको अनुभव छ ।

होटल सङ्घ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले पोखरामा पर्यटकको सङ्ख्या बढेको र दिनप्रतिदिन बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “होटलको क्षमताको ३० प्रतिशत पर्यटक पोखरामा छन् । धेरैजसो भारतीय पर्यटक आएका छन् । तेस्रो मुलुकबाट आएका पर्यटक कम छन् तर उनीहरूको आउने क्रम बढ्दै गएको छ ।

” पर्यटकको यो सङ्ख्या सन्तोषजनक रहेको र पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटकको सङ्ख्याले राम्रो सङ्केत गरिरहेको पनि उहाँले बताउनुभयो । पर्यटक आउने क्रम जारी रहे पनि होटलमा काम गर्ने कर्मचारी भने सबै आइसकेका छैनन् । पोखराका होटलमा १५ हजारले रोजगारी पाइरहेको र त्यसमध्ये ३५ प्रतिशत कर्मचारी मात्रै काममा फर्केको उहाँले जानकारी दिनुभयो । 

कोरोना महामारीले गर्दा गाउँ फर्केकाहरू वैकल्पिक रोजगारीमा लागेको र केही विदेशतिर लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वर्ष ठप्प रहेको व्यवसायलाई कुर्नुभन्दा केही आफ्नै व्यवसाय सुरु गर्नेतर्फ लागेको पाइयो । गाउँमा भएका नयाँ मान्छेलाई काम सिकाएर चलाउन पर्ने अवस्था आएको छ ।” होटल दियो सञ्चालक ईश्वरी पाण्डेले काम गर्ने कर्मचारी केही आए पनि पहिला जस्तो ढुक्कको व्यापार नभएको बताउनुभयो । 

होटल सङ्घका अध्यक्ष सुवेदीका अनुसार पोखरामा ४२५ होटल सङ्घमा दर्ता भएका छन् । पोखरा र आसपासमा गरी एक हजार दुई सय होटल छन् जसमा ३५ हजार शय्या छन् । पोखरामा ४० हजार पाहुना राख्न सक्ने क्षमता छ । लेकसाइड र ड्यामसाइड गरी सात सय  होटल छन् ।