• १२ पुस २०८१, शुक्रबार

रमणीय स्थानमा खिचिएकोे हिन्दी चलचित्र ‘थार’

blog

सुकृत नेपाल 

काठमाडौँ, जेठ ४ गते । पश्चिमा शैली बनेको हिन्दी चलचित्र हो, ‘थार’ । यसले गब्बर सिंह अभिनीत चलचित्र ‘शोले’को झल्को गराउँछ । निर्देशक राजसिंह चौधरीले एउटा समान्य कथालाई बिल्कुलै नयाँ ढङ्गबाट प्रस्तुत गरेका छन् । उनको निर्देशकीय पक्षले दर्शक चलचित्रबाट धेरै नै सन्तुष्ट हुन्छन् । यस चलचित्रको मुख्य पात्र भनेकै यसमा खिचिएको लोकेसन हो । यद्यपि चलचित्रलाई विभिन्न रमणीय ठाउँमा खिचिएको छ जसले चलचित्रका कलाकारहरूको भूमिकालाई पनि बिर्साइदिन्छ । 

चलचित्र १८८५ मा बनेको कथाको सेट हो । (सिद्धार्थ) हर्षवर्धन कपुर राजस्थानको एउटा गाउँमा बसोबास गर्न आउँछन् । उनी धेरै नै कम बोल्ने स्वभावका हुन्छन् । बिहान उठेर जुन होटलमा उनी चियाको चुस्की लगाउन जान्छन्; त्यस होटलको मालिकले सिद्धार्थको मुखबाट सधैँ एउटै कुरा सुनेका हुन्छन्– ‘चाय’ ‘कचौडी’ और ‘कितने हुए’ ।

त्यस गाउँका बासिन्दाले उनलाई अङ्ग्रेजी चलचित्रको कलाकार भन्ने सोचेका हुन्छन् । त्यस गाउँमा एउटा हत्या भएको हुन्छ जसको जाँचबुझ प्रहरी निरीक्षक सुरेखा सिंह (अनिल कपुर) र उनका सहायक अफिसर भुरे (सतीश कौशिक)ले गरिरहेका हुन्छन् ।

सिद्धार्थलाई जब सुरेखाले त्यस गाउँमा आउनुको कारण सोध्छन् तब सिद्धार्थ आफूलाई एटिकको डिलर भएको बताउँछन् । उनी त्यसको लाइसेन्स पनि भएको जानकारी गराउँछन् । गाउँका केही पुरुष पैसा कमाउन भनेर सहर छिरेका हुन्छन् र गाउँ फर्किएका छैनन् । केसर (फतिमा सना सेख) जुन चलचित्रका एउटा पात्र हुन्, उनको श्रीमान् धेरै महिनापछि घर फर्किएका हुन्छन् । घर फर्किएको केही दिनपछि उनी र उनको साथी हराएका हुन्छन् । उनीहरू कहाँ गएका हुन्छन्, कसैलाई थाहा हुँदैन । 

सिद्धार्थ गाउँमा किन आएका हुन् ? केशरका श्रीमान् कहाँ गायब भएका हुन् ? सुरेखा सिंह यी कुरालाई सल्टाउन सक्षम हुन्छन् कि हुँदैनन् भन्ने नै चलचित्रको मुख्य कथा हो । यी सबै प्रश्नको जवाफ पाउन चलचित्र एक पटक हेर्नैपर्ने हुन्छ । चलचित्रको कथा, छायाङ्कन र कलाकारहरूको अभिनयले दर्शकको रुचि बढाउँछ ।

ल्यान्डस्केपलाई चलचित्रमा एकदमै बेजोड तरिकाबाट प्रयोग गरिएको छ । आउटडोर सुटिङ धेरै भएकाले चलचित्रमा निखारता झल्किएको छ । चलचित्रको कथामा पाकिस्तानमा हुने लागूपदार्थको धन्दादेखि लिएर डकैतीलाई पनि देखाइएको छ, जुन सुरुसुरुमा खासै उपयोगी देखिँदैन तर पछि यसको आवश्यकता झल्किन्छ । 

चलचित्रमा निर्देशक चौधरीको कामलाई कतै खोट लगाउने ठाउँ देखिँदैन । चलचित्रमा संवाद एकदमै कम छ तर संवादको बीचबीचमा देखाइने ठाउँहरूको दृश्यले चलचित्रलाई धेरै माथि उठाएको छ । निर्देशकले चलचित्रको प्राविधिक पक्षबाट पनि दर्शकको ध्यान तान्ने प्रयास गरेका छन् । अनुराग कश्यपले लेखेको संवादले चलचित्र अझ उम्दा बनाएको छ । अनिल कपुरको अभिनय औसत छ ।

हर्षवर्धन कपुरको संवाद कम भएको हुनाले उनी केवल चलचित्रको क्यामरामा मात्र सीमित देखिन्छन् । उनको भूमिकामा खासै नयाँपन छैन । फातिमा साना सेखको भूमिका सबैलाई आश्चर्यचकित बनाउने खालको छ । उनको भूमिका बोजेड छ । सतीश कौशिकलगायत चलचित्रका अन्य कलाकारको अभिनयलाई औसत भन्नुपर्छ ।