• ८ मंसिर २०८१, शनिबार

गुमनाम बन्दै हुलाक,टिकट बिक्रीमा भने छैन कमी

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर ८ गते । कुनै समय सञ्चार र खबर आदानप्रदानको सबैभन्दा छिटो र भरपर्दो माध्यम हुलाक यतिबेला गुमनाम हुँदै गएको छ । देशैभर सूचना र सञ्चारको विद्युतीय साधनको पहुँच विस्तार भएपछि हुलाक कार्यालय गुमनाम बन्दै गएको हो तर सरकारले एक पालिका एक हुलाक कार्यालयको व्यवस्था गरेपछि सेवाग्राहीले हुलाक टिकट तोकिएको मूल्यमा पाउन छाडेका छन् । हुलाक कार्यालय उर्लाबारीका प्रमुख विनोद ढकालले भन्नुभयो, “चिठी आदानप्रदान मात्र कम भएको हो । हुलाक टिकट बिक्री विगतका तुलनामा बढेको छ ।” ढकालका अनुसार बैङ्क, प्रहरी र अदालतका पत्रले हुलाकको पुरानो विरासद धानेको छ । ढकालले भन्नुभयो, “कुनै कुनै महिना सादा चिठी एक/दुई वटा मात्र हुन्छन् । बैङ्क र अदालतले पठाउने दर्तावालपत्रको सङ्ख्यामा भने खासै कमी आएको छैन् ।” 

उर्लाबारी हुलाक कार्यालयको तथ्याङ्क अनुसार गत साउनमा ४८ हजार ४८२ रुपियाँको टिकट बिक्री भयो तर सादापत्र दुई वटा मात्र पत्रमञ्जूषामा खसे । बाहिरबाट २४ वटा सादापत्र आए । २४८ वटा पत्र रजिस्टर्ड भएर आए भने उर्लाबारीबाट २८४ वटा पत्र रजिस्टर्ड भएर गए । रजिस्टर्ड पत्र सबै बैङ्क, अदालत र प्रहरी कार्यालयबाट पठाइएका थिए । विदेशबाट आउने पार्सलले पनि हुलाक सेवालाई धानेको छ । खास गरी खाडी राष्ट्रबाट आउने सामान पनि पार्सलबाट आउने गरेको कार्यालय प्रमुख ढकाल बताउनुहुन्छ । 

भदौमा ३० हजार ८०९ रुपियाँको हुलाक टिकट बिक्री गरेको उर्लाबारी कार्यालयको पत्रमञ्जूषामा तीन वटा पत्र खसे । रजिस्टर्ड र पार्सलमा भने प्रशस्त पत्र आए । कार्यालय प्रमुख ढकालले भन्नुभयो, “पालिकाको वडा वडामा पनि हुलाक टिकट टाँसेर सरकारी काम गर्नु पर्छ । जसले गर्दा टिकट बिक्री घटेको छैन तर पत्रमञ्जूषामा खस्ने पत्रको सङ्ख्या भने शून्यमा झरेको छ ।” 

उहाँले मालपोत, नापी, इलाका प्रशासन, करदाता सेवा कार्यालय, इलाका प्रहरी, पालिका, वडा कार्यालय जस्ता सरकारी कार्यालयमा परामर्श सेवा दिन बसेकाले टिकट किन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “असोजमा पत्रमञ्जूषामा एउटा पनि पत्र खसेन । जबकि असोजमा २६ हजार ३६ रुपियाँको टिकट बिक्री भयो ।” 

गाउँ गाउँमा रहेका अतिरिक्त हुलाक बन्द भएपछि हुलाक टिकट तोकिएको मूल्यमा पाइन छाडेको छ । सेवा परामर्शका नाममा दर्ता भएका कम्पनी १० रुपियाँको टिकट ग्राहकको अनुहार हेरेर १५/२० रुपियाँसम्ममा बिक्री गर्ने गरेका छन् ।