• ११ पुस २०८१, बिहिबार

बालबालिकालाई डिजिटल साक्षरता दिँदै टिकटक

blog

काठमाडौँ, मङ्सिर ८ गते । सामाजिक सञ्जाल टिकटकले बागमती, गण्डकी र कोशी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ । सरकारसँग टिकटकको सम्झौतापछि ‘चाइल्ड सेफ नेट’ संस्थाले फेसबुक, टिकटक, एक्स, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल सचेतना तालिम दिन थालेको हो । 

सरकारले टिकटकलाई डिजिटल सुरक्षा, डिजिटल साक्षरता र सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्त राखेको थियो । उक्त सर्त मान्न टिकटक तयार भएपछि एक वर्षअगाडि टिकटकमाथि लगाइएको प्रतिबन्ध गत भदौ ६ गते हटाइएको थियो । सोही सम्झौताबमोजिम टिकटकसँगको सहकार्यमा शुक्रबार ललितपुरमा १५ विद्यालयका ४० जनालाई डिजिटल साक्षरता तालिम तथा कार्यशाला चलाएको ‘चाइल्ड सेफ नेट’ का अध्यक्षले अनिल रघुवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार टिकटकसँग सम्झौता भएकाले सात जिल्लाका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता सन् २०२५ डिसेम्बरसम्म सञ्चालन गरिने छ । 

“बागमतीका काठमाडौँ, ललितपुर, भक्तपुर, गण्डकीका तनहुँ र कास्की, कोशीका सुनसरी र मोरङ जिल्लाका विद्यालयका बालबालिका, अभिभावक र शिक्षकलाई डिजिटल साक्षरताका बारेमा तालिम दिइने छ,” उहाँले भन्नुभयो, “सबैभन्दा बढी जनसङ्ख्या र सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्यालाई आधार बनाएर जिल्ला छनोट गरिएको छ । यो ‘पाइलट प्रोजेक्ट’ का रूपमा सात जिल्लामा तत्काल चलाइने छ ।” रघुवंशीले सामाजिक सञ्जालको दुरुपयोगले यौन शोषण, घृणायुक्त अभिव्यक्ति, बालविवाह, बालबालिका बेचबिखन र निजी सूचना बाहिरिए दुरुपयोग हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरैले सामाजिक सञ्जाल चलाउँछन् । सुरक्षित हुने ज्ञान छैन । सरकार, स्कुल, परिवारले निषेधात्मक खालको के हो भन्ने जानकारी दिएका छैनन् । कस्ता खालका जोखिम र चुनौती छन् ? कसरी बच्न सकिन्छ भनेर तालिम र वर्कसपबाट बुझाउने छौँ ।” 

अध्यक्ष रघुवंशीले पब्जी, फ्री फायर जस्ता ‘गेम’ बाट हिंसात्मक कुरा बढी आएर बालबालिकाको दिमागमा असर पर्ने भएकाले त्यसबारे शिक्षक, अभिभावक र बालबालिकालाई प्रशिक्षित गराइने बताउनुभयो । डिजिटल साक्षरतामार्फत जिम्मेवारीपूर्वक सामाजिक सञ्जाल कसरी चलाउने भन्नेबारे ज्ञान दिइने उहाँको भनाइ छ । उहाँले सामाजिक सञ्जाल कसैले दुरुपयोग गरेमा कहाँ कसरी उजुरी गर्ने भन्नेबारे बुझाइने बताउनुभयो ।

रघुवंशीका अनुसार टिकटकले १३ वर्षमुनिका बालबालिकाले टिकट अकाउन्ट खोल्न नपाउने, १६ वर्षमुनिकाले दोहोरो कुरा गर्न नमिल्ने र १८ वर्षमुनिका बालबालिकाले टिकटक लाइभ बस्न नपाउने नियम बनाएको छ । घृणायुक्त अभिव्यक्ति टिकटकले एआईमार्फत नियमन गर्दै आएको छ । हाल टिकटकले विश्वभरबाट दैनिक २० लाखभन्दा बढी घृणायुक्त भिडियो हटाउने गरेको छ ।

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।