• ७ मंसिर २०८१, शुक्रबार

बुङालुङ ढुङ्गा बगैँचामा पर्यटक आकर्षित

blog

पर्यटकको आकर्षणमा परेको खोटाङस्थित ढुङ्गाको बगैँचा । तस्विरः राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, मङ्सिर ७ गते । खोटाङको ढुङ्गे बगैँचा (बुङालुङ) पर्यटकको आकर्षणमा परेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थानमा रहेको ढुङ्गे बगैँचामा अहिले हरेक दिन आन्तरिक पर्यटकहरु भ्रमण गर्न पुग्ने गरेका छन् । 

त्रि–धार्मिकस्थल हलेसीनजिक रहेको ककनीडाँडालाई नगरपालिकाले ढुङ्गे बगैँचाको रुपमा विकास गरेको छ । स्थानीय चाम्लिङ भाषामा सो ठाउँको नाम बुङालुङ राखिएको छ । 

चाम्लिङ भाषामा बुङा भनेको फूल र लुङ भनेको ढुङ्गा बुझिन्छ । प्राकृतिक रुपमा थरीथरीका आकृतिका ढुङ्गाले पूरै डाँडा ढाकिएको छ । सिङ्गो डाँडा खोपेर बनाएजस्ता चुच्चो परेका ढुङ्गाले भरिएको छ । हेर्दा कलाकारले कुँदेर बनाएजस्तो देखिन्छ, यहाँका ढुङ्गाहरु । तर उक्त ढुङ्गाहरु प्राकृतिक हुन् । 

ककनीडाँडामा रहेको आकर्षक ढुङ्गाले ढाकिएको डाँडालाई नगरपालिकाले रक गार्डेन अर्थात ढुङ्गे बगैँचाको रुपमा विकास गरेसँगै अहिले पर्यटकले डाँडा भरिन थालेको हो । फोटो खिच्न, भिडियो बनाउ हरेक दिन ५० जनाभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय दुर्गा कार्कीले बताउनुभयो ।

पर्यटकहरु हरेक दिन वृद्धि हुँदै गएपछि बुङालुङनजिक पसल सुरु गरेको कार्कीको भनाइ छ । आकर्षक ढुङ्गाहरु रहे पनि पुरै घारीले घेरिएको ककनीडाँडा पहिले बाख्रावस्तु चराउनका लागि मात्र प्रयोग हुने गरेको थियो । 

अहिले नगरपालिकाले त्यस ठाउँलाई पर्यटकीय स्थल बनाएपछि डाँडाको मुहार नै परिवर्तन भएको स्थानीय गङ्गाबहादुर राउतको भनाइ छ । त्रि–धार्मिकस्थल हलेसीबाट पैदल यात्रामा आधा घण्टामाथि रहेको ककनीडाँडा प्राकृतिक रुपमा थरिथरिका आकृतिक ढुङ्गाले ढाकिएको छ । जसलाई कुनै असर नपर्ने गरी अहिले नगरपालिकाले विभिन्न संरचना निर्माण गरेको छ । 

ढुङ्गे बगैँचा अर्थात् बुङालुङ पुग्न कच्ची सडकमार्ग पनि निर्माण गरिएको छ । उक्त सडक ढलानको कार्य धमाधम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रलाई पर्यटकको गन्तव्यस्थलको रुपमा हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ देखि ढुङ्गे बगैँचाको रुपमा स्थापित गर्ने योजना अघि बढाएको थियो । 

कालो, सेतो र रातो रङ्गको कलात्मक ढुङ्गालाई नबिगारी सजिसजाउ गर्दै विभिन्न आकर्षक संरचनाहरु पनि निर्माण गरेपछि हाल पर्यटक आउन थालेको नगरप्रमुख राईको भनाइ छ । 

हाल बुङालुङमा पदमार्ग, चिल्ड्रेन पार्क, ढुङ्गाको मुन गेट, परगोला, प्रतीक्षालय, गार्ड हाउस, रेष्टुरेन्टका लागि संरचना, मेनगेट, घेराबारा, पानीको फोहोरा देखाउने पोखरी, आउटडोर जिम, शौचालय, वृक्षरोपण, टिकट काउण्टर निर्माण भइसकेको छ । रेष्टुरेन्टलगायतका केही संरचना सञ्चालनमा आउन बाँकी छ ।  

हलेसीमा आएलगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनीडाँडामा रक गार्डेनको परिकल्पना गरिएको थियो । नगरपालिकाले परिकल्पना गरेजस्तै अहिले पर्यटकको यस ठाउँमा घुइँचो लाग्ने गरेको नगरप्रमुख राईले बताउनुभयो । 

बुङालुङ अर्थात ढुङ्गे बगैँचाबाट उत्तरतर्फका हिमशृङ्खला र वरपरका दृश्यवलोकनका लागि पनि चर्चित छ । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रङ्गका ढुङ्गाले ढाकिएको ककनी डाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ । 

भस्मासुरले महादेवलाई लखेट्दा महादेवको पाइला परेको ककनीडाँडामा कलात्मक ढुङ्गा सिर्जना भएको धार्मिक मान्यता छ । हाल बुङालुङमा जिल्ला भित्रकासँगै जिल्लाबाहिर विभिन्न ठाउँका नागरिकहरु भ्रमणका लागि आउने गरेका छन् । हलेसीमा आएका विदेशी पर्यटकले पनि बुङालुङ पुगेर फोटो खिचाउन थालेका छन् । भ्रमणसँगै पर्यटकहरु बुङालुङमा योग गर्नसमेत आउन थालेको नगरप्रमुख विमला राईको भनाइ छ ।