• ११ पुस २०८१, बिहिबार

‘अग्निदहन’ लाई मिश्रित प्रतिक्रिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । चलचित्र ‘अग्निदहन’ को बुधबार प्रिमियर गरिएको छ । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सीप्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नुपर्ने बताउनुभयो । राजनीतिज्ञ शङ्कर तिवारीले अधिकांश चलचित्रमा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’ मा भने गहिराइमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताउनुभयो ।

निर्देशक तथा कलाकार नरेश पौडेलले चलचित्रले समाजमा व्याप्त भयावह कुरीतिलाई भयानक प्रहार गरेको बताउनुभयो । उहाँले यसलाई घिनलाग्दो कुरीतिलाई विद्रोही प्रहारको संज्ञा दिनुभयो । कलाकार लोकेन्द्र लेखकले ‘अग्निदहन’ सामाजिक विकृति, विसङ्गति र खास गरी बोक्सीप्रथाविरुद्ध उठाइएको एउटा सशक्त आवाज रहेको बताउनुभयो ।

घनश्याम लामिछाने निर्देशित चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन रहेको छ । प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङको अभिनय रहेको चलचित्र शुक्रबारबाट प्रदर्शन हुँदै छ ।