• ११ पुस २०८१, बिहिबार

फिल्म साउथ एसिया महोत्सव सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ७ गते । फिल्म साउथ एसिया महोत्सवको चौथो संस्करण बिहीबार सुरु भएको छ । ललितपुरको यलमाया केन्द्रमा उक्त महोत्सव सुरु भएको हो । चार दिनसम्म चल्ने महोत्सवमा विभिन्न देशका ४७ लघुचलचित्र र वृत्तचित्र प्रदर्शन गरिने जनाइएको छ ।

महोत्सवमा पहिलो दिन विद्यार्थीहरूले निर्माण गरेका सात वटा लघुचलचित्र प्रदर्शन गरिने छ । नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत नौ देशका चलचित्रले सहभागिता जनाएका छन् । यस वर्षको महोत्सवको थिम ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ रहेको छ । महोत्सवमा निर्देशनसम्बन्धी कार्यशालाको आयोजना महोत्सवका सहायक निर्देशक पवस मानन्धरले बताउनुभयो । उक्त कार्यशालामा भारतीय निर्देशक कविर खानको उपस्थिति रहने बताइएको छ । महोत्सवमा उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र अवार्ड प्रदान गरिने छ । यो वर्षबाट ‘बेस्ट फिल्म इन दी क्लाइमेट क्राइसिस अवार्ड’ पनि थप गरिएको मानन्धरले बताउनुभयो ।