गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ७ गते । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीन वटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
आयोजनाले बुधबार परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको र परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने जनाइएको छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिब एक महिनाभित्र आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरिने आयोजनाको प्रवर्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले बताउनुभयो । टिमुरे (तातोपानी) स्थित
विद्युत्गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।
उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कात्तिक २१ देखि सञ्चालनमा ल्याइएको थियो ।
रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौँ उपत्यकामा हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुने प्राधिकरणले जनाएको छ तर सुक्खायाम सुरुसँगै भोटेकोशी नदीमा पानीको बहाव घट्न सुरु भइसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भने हुने छैन । हिउँदयाममा आयोजनाबाट करिब ३७ मेगावाट मात्र विद्युत् उत्पादन हुने छ ।