• ७ मंसिर २०८१, शुक्रबार

त्रियुगा पुल निर्माण तीव्र

blog

गाईघाट समाचारदाता

गाईघाट, मङ्सिर ६ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग हडिया र देवधारलाई जोड्ने गरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ, सुनकोसीलगायतका जिल्लाभित्रका अन्य कतिपय ठुला पक्की पुलको निर्माण कार्य बर्सौंदेखि अलपत्र परिरहेको तर हडिया देवधारकोे त्रियुगा पुल भने निर्धारित समयसीमाभन्दा एक वर्षअगाबै सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको पुल सेक्टर धरानका आयोजना प्रमुख इन्जिनियर दारोगा प्रसादले बताउनुभयो । 

सडक विभागको पुल महाशाखाले डिजाइन एन्ड ब्रिज मोडेल अन्तर्गत मदन भण्डारी राजमार्गको गाईघाट–बेल्टारखण्डको देवधारमा हडिया क्षेत्रलाई जोड्ने गरी २०७९ मङ्सिर २१ गते ठेक्का सम्झौता गरेर सो पुलको निर्माण गर्दै आएको हो ।

विभागको पछिल्लो नीति अनुसार निर्माण व्यवसायीले नै माटो परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्ने र लागत स्टिमेटका आधारमा बजेट सुनिश्चित भएपछि तोकिएको समयसीमाभित्र पुल निर्माण गरिसक्ने गरी डिजाइन स्वीकृत भए अनुसार नै हडिया–देवधार जोड्ने त्रियुगा पुलको निर्माण धमाधम अगाडि बढाइएको निर्माण कम्पनीका निर्देशक उमेश श्रेष्ठले बताउनुभयो ।

विभागको पुल सेक्टर धरानका इन्जिनियर दारोगा प्रसादका अनुसार सूर्य एन्ड सन्स प्रालि निर्माण कम्पनी धरान सुनसरीले ४० करोड ३४ लाख ८८ हजार रुपियाँको लागतमा दुवैतर्फको गरी ६५० मिटर लामो एप्रोच सडकसहितको ३२० मिटर लम्बाइ तथा ११ मिटर चौडाइको उच्च गुणस्तरको पक्की पुल निर्माणको काम गर्दै आएको छ । 

निर्माण कम्पनीले ४२ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता गरे अनुसार काम अगाडि बढाएको तर सरकारले व्रmमागत रूपमा कम्तीमा पनि प्रतिवर्ष १४ करोड रुपियाँ उक्त पुल निर्माणका लागि विनियोजन गर्नुपर्नेमा न्यून रकम विनियोजन गरेकाले निर्माणको काम बिचैमा अलपत्र हुन सक्ने स्थिति रहेको पुल सेक्टर धरानका योजना प्रमुख दारोगा प्रसादले बताउनुभयो । चालु आव २०८०/८१ का लागि सरकारले एक करोड ४१ लाख रुपियाँ मात्र यो पुल निर्माणका लागि राखेको र सो रकम त के दुई करोडभन्दा बढी रकमको काम सम्पन्न गरेर भुक्तानीका लागि निर्माण कम्पनीले कार्यालयमा बिल बुझाएको महिनाँै हुँदा पनि रकम अभावमा भुक्तानी दिन नसकिएकाले अब निर्माणको काम अगाडि बढाउन नसकिने उहाँले बताउनुभयो ।

सरकारले थप बजेट उपलब्ध गराउन नसके अब काम अगाडि बढाउन आर्थिक रूपले असहज भएको छ तर विभागले थप रकम उपलब्ध गराउने आश्वासन दिएकाले अहिले नै निराश हुनुपर्ने अवस्था भइनसकेको र बजेट अभाव नहुने हो भने चालु आवको असार मसान्तसम्ममा फाउन्डेसनको काम सम्पन्न गरी वारि र पारि दुवैतर्फ २०÷२० मिटर स्पान ढलानसमेत गर्ने गरी अहिले निर्माणको काम अगाडि बढाइएको उहाँले बताउनुभयो । 

यस क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काको सव्रिmयतामा तयार पारिएको सो योजनाका सम्बन्धमा स्थानीय तहमा काम हुने कि नहुने वा चुनावी नारामा मात्रै सीमित हुने हो कि भन्ने व्यापक दुबिधा हुँदै आएकोमा अब भने त्यस्तो दुबिधा नरहेको स्थानीय बासिन्दा चौदण्डीगढी नगरपालिका–१० का वडाध्यक्ष धर्मराज खड्काले बताउनुभयो । बिनारोकतोक निर्विवादित ढङ्गले निर्माणको काम अगाडि बढिरहेका योजनालाई नेपाल सरकारले बजेटको व्यवस्था गर्नुपर्ने वडाध्यक्ष खड्काले बताउनुभयो । हालसम्म छ वटा पिल्लरको पाइलिङ गर्ने काम सकिएर पिल्लर निर्माणको काम सुरु भएको छ ।