• ७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओली माथिको प्रहार अर्थहीन : नेता चौलागाई

blog

काठमाडौँ, मङ्सिर ६ गते । नेकपा (एमाले) पोलिटब्युरो सदस्य कमल चौलागाईँले नेपालको राजनीतिलाई आफ्नो हिसाबले अघि बढ्न नदिने बाह्य शक्ति अहिले पनि क्रियाशील रहेका बताउनुभएको छ । 

नेकपा एमालेको जागरण सभाको तयारीका विषयमा बुधवार नेकपा एमाले रामेछापले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै चौलागाईँले छिमेकी मुलुक भारत र पश्चिमा शक्तिले नेपाललाई आधारभूमि बनाएर चीनको विरुद्ध गतिविधि सञ्चालन गर्न विभिन्न खेल खेलिरहेकाे बताउनुभयो । ‘यस्तो माहौलमा फस्टाउने भनेकै दलालहरू, देशद्रोहीहरू नै हो, यस्तो परिस्थितिमा राष्ट्रवादी शक्तिहरूलाई प्रहार हुन्छ, भएको त्यही नै हो अहिले’, चौलागाईँले भन्नुभयो । 

दक्षिणले अप्ठेरो पार्दा उत्तर तर्फ ढल्किनु नेपालको बाध्यता भएको बताउँदै चौलागाईँले त्यस्तो स्थितिमा नेपाल चीन तर्फ ढल्कियो भनेर अमेरिकाले पनि प्रहार गर्ने उहाँको धारणा छ । ‘यस्तो स्थितिमा बाह्य हस्तक्षेपको प्रतिवाद गर्ने नेता केपी ओली हो, त्यस कारण केपी ओली माथि हर प्रकारको प्रहार हुन्छ’, उहाँले भन्नुभयो । 

केपी ओलीको विरुद्ध अहिले सबै खालका शक्ति प्रहार गर्न लागेका उहाँले बताउनुभयो । त्यसकै सिलसिलाको रूपमा कम्बोडियाको कम्पनीमा ओलीको लगानी छ भन्ने भ्रामक प्रचार गरिएको चौलागाईँको भनाइ छ । राष्ट्रवादी नेताहरूलाई बदनाम गराउने अन्तर्राष्ट्रिय दलालहरू लागेका चौलागाईँले स्पष्ट पार्नुभयो । 

एमालेको पक्षमा जनमत छैन, एमाले सकियो भनेर अहिले भ्रामक प्रचार गरिएको चौलागाईँले बताउनुभयो । त्यही भ्रमलाई चिर्न एमालेले मङ्सिर ७ गते जागरण सभा गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो । 

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई चाइना कार्ड प्रयोग गर्न खोज्यो भनेर राष्ट्रघाती र दलाली कुरा गरेका चौलागाईँको टिप्पणी छ । ‘यो केपी ओलीलाई कमजोर पार्ने होइन, राष्ट्रलाई कमजोर पार्ने कुरा हो’, उहाँले भन्नुभयो । 

चौलागाईँले देश अहिले गम्भीर सङ्कटमा परेको बताउँदै यस्तै सङ्कटमा नेसनल लिडर आवश्यक पर्ने बताउनुभयो । त्यो नेसनल लिडर केपी शर्मा ओली भएकोले उहाँलाई सबैले मिलेर जोगाउनु पर्ने चौलागाईँको धारणा छ ।