• २१ पुस २०८१, आइतबार

बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

blog

बनेपा समाचारदाता 

बनेपा, मङ्सिर ७ गते  । बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । असोज दोस्रो साता अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण क्षति भएको राजमार्गमा सडकको सतह मिलाउनुपर्ने भएकोले बिहीबार राति ९ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको हो । 

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीबाट क्षति भएको राजमार्गको चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्ती खोलासम्मकोे सडक सतहलगायत मर्मतको काम गर्नुपर्ने भएकाले रातिको समयमा सडक बन्द गरिएको बताउनुभयो । “बाढीबाट क्षति भएको राजमार्गको चौकीडाँडालगायतका क्षेत्रमा मोडलाई सिधा बनाउने, सोलिङ गर्ने र केही स्थानमा सडकको सतह मिलाउने काम भइरहेको छ । दिउँसो सवारीको चापका कारण काम गर्न सक्ने अवस्था छैन भने रातको समयमा हुने सवारी चापले समेत काम गर्न समस्या भएकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ९ देखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेका हौँ,” सिडिई योगेशले भन्नुभयो । उहाँले बाढीबाट क्षति भएको बिपी राजमार्गको चौकीडाँडामा उकालो सडक भएका कारण साना सवारीसाधनलाई समस्या परेकाले उक्त स्थानमा सडक सिधा बनाउनका लागि ग्याबिन पर्खाल लगाउने र सोलिङ गर्ने काम भइरहेको बताउनुभयो । उहाँले अबको चार÷पाँच दिनमा सडक मर्मतको काम सकिने जानकारी दिनुभयो ।

बाढीपहिरोका कारण बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक सडकखण्डमा १२ किलोमिटर सडकमा क्षति भएको छ । बाढीपहिरोका कारण करिब दुई अर्ब बराबरको आर्थिक क्षति भएको र पुनर्निर्माणका लागि सात अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।