नेपालको भौगोलिक अवस्थिति भूपरिवेष्टित रहेता पनि अति सुन्दर र सहज व्यापारिक रणनीतिक स्थितिमा यो विराजमान छ । दक्षिण–पूर्व–पश्चिम सिमा मित्रराष्ट्र भारत, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र दुवै देशका केही सिमा नाकाले हाम्रा मित्रराष्ट्रहरू जोड्ने उत्तर–दक्षिण सिमानाका बजार/सहरले नेपाललाई समृद्धि उन्मुख गराउने अवसर प्राप्त गर्छन् । जस्तै भारतसँग सिलगुढी–काँकडभिट्टा, विराटनगर–जोगबनी, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली, नेपालगन्ज–रुपैडिया, धनगढी–पलिया वा गड्डाचौकी–वनबासा/टनकपुर । त्यसै गरी उत्तरतर्फ नेपाल–चीन सरकारसँग हालै सम्झौता भए अनुसार सात वटा सिमानाका खोल्ने सहमतिमध्ये किमाथान्का–भोटखोला सङ्खुवासभा, सिन्धुपाल्चोकको तातोपानी– खासा ल्हासा, रसुवागढी–केरुङ, मुस्ताङ कोरोला–जोङ्वा (चौरी खर्क), हिल्सा र लाप्चा–ताकलाकोट पुराङसँग अति पायक र सहज रूपमा आवतजावत र व्यापार गर्न सकिन्छ । हाम्रो उत्तरतर्फका विगत केही समयमा परम्परागत चालु याक–पाठा क्याराभान (सिमा व्यापारी) मार्फत व्यापारिक क्षेत्रहरू बन्द अवस्थामा रहेका थिए । ती पुनः नयाँ ताजगी नाताका साथ (एक चीन) नीतिबाट सञ्चालन हुन थालेका छन् । यी दुई मित्रराष्ट्रसँगको भौगोलिक अवस्था दक्षिणतर्फ सुगम र उत्तरतर्फ विकट दुर्गम थिए/छन् तर अब उत्तरतर्फ नेपाल र नेपालीका लागि सहज र सुगम महसुस हुन थालेको छ । प्रत्येक देशले आआफ्नो फाइदाका लागि क्षमता प्रर्दशन गर्ने हो । अब नेपालको उत्तर तर्फको व्यापार व्यवसाय र सामाजिक, सांस्कृतिक, ऐतिहासिक, सम्बन्ध बढ्दै जानेकुरा जोङ्बा–कोरोला नाका हालै हाम्रा गृहमन्त्री र चिनीया समकक्षीले विधिवत् उद्घाटन गरेपछि अपेक्षा गर्न सकिन्छ ।
गण्डकी प्रदेशको अति पवित्र धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी कोरिडोरले दक्षिणमा गण्डक बाँध सुस्ता पारी भारतको पटनासम्म र उत्तरमा लो मान्थाङ कोरोला–जोङ्बा (याक खर्क) तिब्बत चीन झन्डै दुई सय किमी लामो सम्पर्क सडक सञ्जालले तीन मुलुकलाई एक सूत्रमा जोड्ने काम गर्न थालेको छ । नेपालका छ हजार नदीनालामध्ये तीन ठुला नदी कोशी, गण्डकी र कर्णाली, त्यसमध्ये पनि कालीगण्डकी एउटा ऐतिहासिक, धार्मिक, सांस्कृतिक (शालिग्राम शिला र १७ वटा धाम भरिपूर्ण छन्) । आर्थिक दृष्टिकोणबाट नुनदेखि सुन, सेतो मोती उत्पादन (जलविद्युत्) भेटिने र गर्ने क्षमता राख्छन् र अति थोरै दुरीमा उत्तर दक्षिण सिमा जोड्ने मोटरबाटो चालु भइसकेको छ । यो नदीको महìवबारे छोटो प्रकाश पारौँ । दक्षिणी भारतीय सिमाको गण्डक बाँध र सिमाक्षेत्र (पटनासम्म)का बासिन्दाको दाहासंस्कार गर्ने साझा त्रिवेणी घाट/धाम, सुस्ता पारी (पूर्वपट्टी चितवन) प्रसिद्ध वाल्मीकि आश्रम र सुस्ता पश्चिमतर्फ गोरक्ष मोक्ष धाम र त्यस क्षेत्र नवलपरासी, रुपन्देही, चितवनका बासिन्दाको मरणोपरान्त दाहसंस्कार विसर्जन गर्ने, मुक्ति र मोक्ष प्राप्त गरी स्वर्गवास गर्ने आस्थाका क्षेत्रहरू त्रिवेणीघाट/धाम नवलपुर र देवघाट (चितवन) छ । त्यसपछि क्रमशः उत्तरतर्फ केलादी, राम्दी रानीघाट रीडी/रुरु धाम, सेतीवेणी शिला बेलबगर घाट जैमुनी, मोदीवेनी गुप्तेश्वर सहस्रधारा, निरहे/बागलुङ
कालिका, पञ्चकोट/कुँडुले विश्व प्रसिद्ध शालिग्राम सङ्ग्रहालय, रावणपार्क/पुलस्चाश्रम, हम्पाल गलेश्वर धाम, धारा शिवालय, तातोपानी कुण्ड, रुप्से झर्ना एवं विश्व प्रसिद्ध अन्धा गल्छी हुँदै मुस्ताङको ठिनीस्थित डोम्बाताल, काराबेनी, मुक्तिनाथ र छुसाङ नुनखानी, तीन हजार वर्ष पुरानो चैले गुफा लो घेकर गुम्बा छ । दायाँतर्फ कालिगण्डकीको उद्गमस्थल पवित्र दामोदर कुण्ड र उत्तरतर्फ पर्खालभित्रको लोमान्याङ पालिका र मुस्ताङको अन्तिम उत्तरी सिमागाउँ छोसेर (तीन हजार वर्ष पुरानो सात तले ११३ कोठा आदिम मानव बस्ती ढुङ्गे गुफा) हुँदै कोरोला नाका (४६०० मि) पुग्न सकिन्छ । यस क्षेत्रका चार धाम भ्रमण गरे मोक्ष प्राप्त हुन्छ भन्ने जनविश्वासका साथ संसारभरिका हिन्दुहरू (बाली इन्डोनेसिया) लगायतले भ्रमण गर्ने गर्छन् । छुसाङमा पुरानो नुन खानी छ, कालीगण्डकीको बेनीदेखि तल्लो भूभागमा सुन खोज्ने (चाल्ने) काम र विगतमा छुसाङबाट गण्डकी धौलागिरि क्षेत्रका बासिन्दालाई नुन आपूर्ति गर्ने गरिन्थ्यो । यस्तो एउटा ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्षेत्रलाई कालीगण्डकी कोरिडोरले सञ्जालको सहजीकरण गर्ने काम गर्छ । यो राजमार्गको दुरी भविष्यमा सुस्ता–दुम्कीवास सिधा जोडिँदा र राम्दी–रानीघाट–रिडी सञ्चालन हुँदा दुई दिनमा भारतदेखि चीनसम्म सहज यात्रा गर्न सकिन्छ ।
कोरोला नाकाबाट जोङ्वा बजार तिब्बत झन्डै एक घण्टा (४५/५० किमि) मात्रै लाग्छ र त्यहाँबाट मानसरोवर कैलाश तिर्थ यात्रा पनि २÷३ घण्टामा पुगिन्छ । यो भन्सार नाकाले सडक सञ्जालको साधनबाट भन्डै दुई तीन दिनमा आरामले कैलाश मानसरोवरको थोरै समय र खर्चमा भ्रमण सम्पन्न गर्न सकिन्छ । नेपालतर्फ म्याग्दीको बेगखोला क्षेत्र र दाना–रुप्से–धाँसको २÷४ किमी सडक सुधार गर्ने हो भने बाँकी भाग अधिकांश बाटो कालोपत्रे भइसकेको अवस्था छ । हाल मुस्ताङको सिमा धाँसदेखि कोरोलासम्म आरामले यात्रा गर्न सकिन्छ । छिट्टै कोरोला नाकामा नेपाल तर्फको सुक्खा बन्दरगाह, क्वारेन्टाइन, अध्यागमन/भन्सार कार्यालय सञ्चालन हुन थालेपछि कालीगण्डकी कोरिडोर क्षेत्र एवं गण्डकी प्रदेशको आर्थिक विकासको गतिविधि धेरै अगाडि बढ्ने छ । हालसम्म बेनी जोमसोङ र मुक्तिनाथ/कागबेनी कोरोला बाटोलाई आन्तरिक यातायातको सहजताका दृष्टिकोणबाट मात्रै हेर्ने गरिएको छ । नाकाको औपचारिक उद्घाटनबाट नयाँ आयाम खुलेको छ । कोरोना सङ्क्रमणपूर्व नाका सिमाक्षेत्रका बासिन्दालाई वर्षमा एक पटक मात्रै करिब एक महिनालाई मात्रै खुल्ने गथ्र्यो, अब त्यो स्थिति छैन । मौसमले साथ दिँदासम्म चालु हुने परिस्थिति सुरु भएको छ । जसरी आज रसुवागढी, तातोपानी–खासा र हिल्सा–ताकलाकोट सञ्चालन हुने गरेको छ । नेपाल र चीनबिच सुमधुर सम्बन्ध र व्यापारिक कारोबार चल्न थाल्यो । नेपाल सरकारको सव्रिmयता अपरिहार्य छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले पनि थप आयाम बढाउने छ ।
कोरोला भन्सार एवं अध्यागमन कार्यालय सञ्चालनले कालीगण्डकी वारिपारि र गण्डकी प्रदेशलाई नै प्रत्यक्ष र परोक्ष लाभ पुग्न जाने छ । त्यसै गरी कालीगण्डकी राजमार्गसँग जोडिएका सहायक मार्ग (फिडर रोड) ले यस क्षेत्रका उत्पादन, बजारीकरण र ससाना बजार विकास हुन जाने छ । पर्यटनको क्षेत्रमा यहाँ रहेका प्रसिद्व धाम, ¥याफटिङ, बन्जीजम्पलगायतका गतिविधिमा चीन तथा भारतीय पर्यटक आकर्षित हुने छन् । यहाँ धार्मिक एवं साहसी पर्यटन व्यवसाय बढ्ने छ । नुनखानी र सुनखानी पत्ता लगाएर अन्य फलाम, तामा, सिसाखानी पुनः सञ्चालन गर्न सके थप आर्थिक गतिविधि बढ्ने थियो । उद्यम व्यवसायमा लगानी गर्ने वातावरणबाट स्वदेश र स्थानीय तहमै स्वरोजगार सिर्जना हुने छ । गण्डकी प्रदेशका हिमाली जिल्लामा फलेका स्याउ, ओखर, नास्पाति, खुर्पानी फलफूल र पशुजन्य उत्पादनले व्यापार प्रोत्साहन हुने छ । यहाँका मौसम अनुकूलका उत्पादनलाई व्यवसायीकरण गर्न प्रविधि र सिपमूलक शिक्षा तालिम प्रदान गरी उत्पादन वृद्धि गर्नुका साथै छिमेकी मित्र राष्ट्रमा निर्यात गर्ने प्रशस्त सम्भाव्यता छन् ।
नेपालले कालीगण्डकी कोरिडोर सडक सञ्जाललाई गण्डकी प्रदेशको ‘लाइफलाइन’को रूपमा मात्रै होइन कि यो देशको मध्य भागमा रहेको कालीगण्डकीको जलसम्पदा, खानीजन्य स्रोत, वनसम्पदा र वनस्पति जडीबुटीलाई आधुनिक तरिकाले प्रशोधन गरी प्रयोगमा ल्याउन सकिन्छ । समग्र गण्डकी प्रदेशको समृद्धि र प्रगति कालीगण्डकी कोरिडोरमाथि निर्भर गर्छ । राजमार्गको उपादेयता, त्यस क्षेत्र वरपर रहेका प्राकृतिक एवं मानव स्रोतसाधनलाई कसरी परिचालन एवं अधिकतम उपयोगमा ल्याउने भन्ने उद्देश्यहरू निर्धारण गरिनु पर्छ । तिनै तहका सरकारबिच सहकार्य गर्र्न, योजना तय गर्ने र जनतालाई जागरण र सचेत गराई प्रोत्साहनमुखी बनाउनु आवश्यक छ । त्यसका लागि प्रथमतः दक्षिण त्रिवेणी क्षेत्र गण्डक बाँधदेखि नवलपुर गैँडाकोट कालीगण्डकी चोकसम्मको छोटो राजमार्ग सञ्जाललाई औपचारिक रूपमा सञ्चालनमा ल्याउनु पर्छ । त्यसमा संलग्न स्थानीय सरकारबिच कालीगण्डकी कोरिडोरबारे जनचेतना र बाटोको कारणबाट विकास निर्माणले ल्याउने परिवर्तनलाई सचेत र एकीकृत योजना तथा कार्यक्रमहरू आवधिक र वार्षिक रूपमा तय गर्नु पर्छ ।
यस्तै चिन सरकारले हाल कोरोला नाका अध्यागमन एवं भन्सार कार्यालय निर्माण सम्पन्न गरेर पूर्ण रूपमा आवतजावत र व्यापार सञ्चालन गर्ने भौतिक पूर्वाधार तयार गरे झैँ नेपाल सरकारले नेपालतर्फ अति शीघ्र विभिन्न पूर्वाधार जस्तै भन्सार, अध्यागमन, सुक्खा बन्दरगाह, क्वारेन्टाइन तयार गरी कालीगण्डकी लोक मार्ग सञ्चालनमा ल्याउने । यसै गरी स्थानीय जनसमुदायलाई साक्षात्कार, जनचेतना अभिवृद्धि गराई स्थानीय उत्पादनलाई निर्यातमुखी, व्यवसायिक उत्पादनमा प्रोत्साहन गर्ने गराउनु पर्छ । जस्तै हिमाली क्षेत्रमा स्याउ, पशुपालन, जडीबुटी र पशुजन्य–माछा मासु उत्पादनमा जोड दिने, त्यसै गरी तराई क्षेत्रमा खाद्य पदार्थ, कृषिजन्य उत्पादन र तरकारी उत्पादन गर्न व्यापार बजार व्यवस्थापन गर्ने ।
यसबाहेक अन्य सरोकार निकाय पर्यटन व्यवसायी, उद्योग, वाणिज्य सङ्घले प्राकृतिक स्रोत, खानी, वनसम्पदामा आधारित हुने उद्यम व्यवसाय सञ्चालन गर्ने निजी तथा समुदायलाई लगानी र कार्यक्रममा आकर्षण र सहभागी गर्न प्रोत्साहन गर्ने हुनु पर्छ । तिनै तहका सरकारबिच सहकार्य, समन्वय र साझा सहकारीमा आधारित योजना र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने हुनु पर्छ । माथिका यी क्रियाकलापमा ध्यान दिन सके गण्डकी प्रदेश मात्रै होइन अन्य प्रदेशमा पनि अनुकरणीय काम हुन जाने छन् र बिदेसिएका युवा जनशक्ति नेपाल फर्की गाउँ ठाउँमै रोजगार सिर्जना गरी आत्मनिर्भर हुने छन् । यस कार्यले नेपाल र नेपालीको जीवनमा रूपान्तरण ल्याउने छ र सुखी नेपाली र समृद्ध नेपाल बन्ने छ ।