• २१ पुस २०८१, आइतबार

रानीमहल जोखिममा

blog

रानीमहलको अवस्थाबारे बुझ्दै सरोकारवाला निकायका प्रतिनिधि । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता 

तानसेन, मङ्सिर ७ गते । कालीगण्डकी नदीको धारले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेको छ । कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ । पाल्पाको तानसेन–१४ मा रहेको ऐतिहासिक रानीमहल रहेको जग तलबाट कालीगण्डकी नदी बगेको छ । नदीको बहावले रानीमहल रहेको तल्लो भागमा ‘भ्वाङ’ परेको यहाँका सरोकारवालाको भनाइ छ । रानीमहलको जग तल बगेको नदीले रानीमहलतर्फको चट्टान काटेर सात फिटभित्र पसेको चार वर्षअघि नै गोताखोरको समूहले सूचित गरेको थियो । 

सो क्षेत्र निरन्तर कटान भए रानीमहल दरबार भासिन सक्ने तानसेन नगरपालिकाका पूर्वप्रमुख अशोककुमार शाहीले बताउनुभयो । रानीमहल जगमा नदीले गरेको कटान रोक्न नसके भविष्यमा रानीमहल भासिएर दरबारको अस्तित्व नै समाप्त हुन सक्ने उहाँको चिन्ता छ । जग कटान रोक्न आवश्यक उपाय गरेर तत्कालै यसको संरक्षणमा लाग्न उहाँले सुझाव दिनुभयो । रानीमहलको सौन्दर्यमा मात्र होइन, दरबार ठडिएको जग कस्तो छ भनेर बुझेर काम गर्न आवश्यक रहेको छ । १२७ वर्ष पुरानो रानीमहलको जगको कटान रोकेर रानीमहल दरबार संरक्षण गर्न नगरपालिका र पुरातत्व विभागले ध्यान दिनुपर्ने प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले बताउनुभयो । रानीमहल पाल्पासहित नेपालकै एउटा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।  

रानीमहलको जगमा कटान रोक्नका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड रुपियाँ बजेट विनियोजन भएको छ । जग कटान रोक्न प्रारम्भिक काम गर्न यो आवमा एक करोड रुपियाँ बजेट परेको र त्यसबाट आवश्यक काम गर्ने तयारी भइरहेको जनता तटबन्ध कार्यक्रम बुटवलका प्रमुख शम्भुराज पण्डितले बताउनुभयो । रानीमहल क्षेत्रमा कालीगण्डकी नदीको सतह घटेपछि जग कटानको अवस्था हेरेर काम गरिने उहाँले जानकारी दिनुभयो । सम्बन्धित विज्ञ र पुरातत्व विभागसँग परामर्श गरी रानीमहललाई जोगाउने गरी काम तत्कालै सुरु गरिने पण्डितले बताउनुभयो । 

१९५४ सालमा राणा खड्गशमशेरले कालीगण्डकी नदीको चट्टानमाथि रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार निर्माण गरेका थिए । अहिले रानीमहल तानसेन नगरपालिकाको मातहतमा संरक्षण एवं रेखदेख कार्य भइरहेको छ । रानीमहल दरबारको अवलोकनका लागि यहाँ हरेक वर्ष तीन लाख आन्तरिक तथा बाह्य पर्यटक जाने गरेको तानसेन नगरपालिकाले जनाएको छ । रानीमहललाई प्रेमको प्रतीकका रूपमा समेत लिने गरिन्छ ।