• २१ पुस २०८१, आइतबार

बाघ र गैँडाको आतङ्क

blog

नवलपरासी समाचारदाता

बुलिङटार, मङ्सिर ७ गते । नवलपरासी पूर्वको विकट पहाडी बुलिङटार गाउँपालिकामा चार दिनदेखि बाघ गाउँमा पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले एक्कासि बाघ गाउँमा पसेर गाईगोरु र बाख्रा मार्न थालेपछि स्थानीयले प्रहरीको सहयोगमा आतङ्क बन्द गर्न माग गरेको बताउनुभयो । बाघले स्थानीय जनतासमेत त्रसित हुन थालेपछि अहिले बाटो, जङ्गलमा हिँड्नसमेत प्रतिबन्ध लगाएको अध्यक्ष सुनारीले बताउनुभयो । 

बाघले पछिल्लो चार दिनमा १० वटा गोरु, गाई र बाख्रा मारेको बुलिङटार प्रहरी चौकीले जनाएको छ । धेरै समयपछि अहिले पहाडी क्षेत्रमा बाघ निस्केको बुलिङटार गाउँपालिका–१ का वडाध्यक्ष दिलबहादुर सूर्यवंशी मगरले बताउनुभयो । बाघको आक्रमणलाई तत्काल रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रशासनले त्यसतर्फ आवश्यक प्रहरी परिचालन गरेको बताउनुभयो । पहाडी क्षेत्रमा २० वर्षयता बाघ नै नआएको स्थानीयले बताएका छन् । 

जाडो बढेसँगै पूर्वी नवलपरासीको नारायणी नदीसँग जोडिएका निकुञ्ज आसपासका ठाउँमा गैँडा पसी किसानले लगाएको बालीनाली खान थालेपछि स्थानीय त्रसित बन्दै गएका छन् । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले विनयीत्रिवेणी गाउँपालिका, गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाका धेरै क्षेत्रमा मकै, गहुँ, तोरीलगायतका अन्नबालीमा पसेर खाने  र भाँचिदिने गरेका छन् । बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको गैँडाकोट नगरपालिका–६ का नारायण गौडेलले बताउनुभयो । 

गैँडा जाडोयाममा निकुञ्जबाट बाहिर घाम ताप्न निस्किने र किसानले लगाएको हिउँदे बाली नष्ट गर्ने गरेको पिठौली मध्यवत्र्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले बताउनुभयो । गैँडाबाट बच्न सबैले घरबाटै एकबिहानै निस्कन नहुने र ज्यादै सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीले अनुरोधसमेत गरेको छ ।