राधा लुइटेल
फिदिम, असार ६ गते। पाँचथरमा ट्राफिक सप्ताह सुरु भएको छ। सवारी दुर्घटना र तिनबाट हुने क्षतिको न्युनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा ट्राफिक सप्ताह सुरु भएको हो।
फिदिम बजारस्थित शिवालय मन्दिरबाट प्रभातफेरी आयोजना गर्दै यो सप्ताह सुरु गरिएको हो। र्यालीमा सहभागीले सवारी दुर्घटना हुन नदिन चालक पैदलयात्री र यात्रुले अपनाउनुपर्ने सावधानी सम्बन्धी सन्देश लेखेका प्ले कार्ड र ब्यानर बोकेका थिए ।
र्याली पश्चात जिल्ला समन्वय समितिको सभाहलमा प्रवेश गरेका सहभागीले त्यहाँ औपचारिक कार्यक्रम मार्फत ट्राफिक सप्ताह सुरु भएको उद्घोष गरे।
समारोहका प्रमुख अतिथी रहनुभएका फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले सहभागी विद्यार्थीलाई हेलमेट लगाइ दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा ट्राफिक नियमको पालना, सवारी साधनको नवीकरण र लाइसेन्सको महत्त्व लगायतका विषयमा सचेतना फैलाइएको थियो।