बोमलाल गिरी
नवलपुर, असार ६ गते। नवलपुरको देवचुलीमा आगोले जलेर घाइते भएकी कावासोती नगरपालिका–८ की बालिकाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ।
देचुली–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा जेठ ३० गते राति आगोले पोलेर घाइते भएका ५ जना मध्ये एक बालिकाको उपचारको क्रममा मृत्यु भएको हो। आगोले पोलेर एकै परिवारका तीनसहित पाँच जना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार कावासोती–८ निवासी ४४ वर्षीय प्रदीपकुमार भट्टराईकी छोरी ६ वर्षीया अन्नी भट्टराईको वर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
उक्त घटनामा कावासोती–८ निवासी ४४ वर्षीय भट्टराई, उहाँकी श्रीमती ४१ वर्षीया मीना पौडेल, छोरी अन्नी, २६ वर्षीय असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका थिए।
भट्टराई कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसका प्रध्यापक हुनुहुन्छ। घाइते चार जनाको वर्न अस्पतालमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो।
रिसोर्टमा सेकुवा पोल्ने क्रममा पाँच जनालाई आगोले पोलेको थियो। उक्त घटनामा रिसोर्टको गम्भीर लापरबाही भएको पीडितको दाबी छ। घाइते भट्टराईले खाजा खाँदै गर्दा होटलका स्टाफले आगोमा पेट्रोल हालेकाले यस्तो घटना घटेको भिडियो सन्देशमार्फत बताउनुभएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटनाको अनुसन्धान भइरहे पनि घाइते निको भएर फर्किएपछि थप अनुसन्धानमा सहज हुने बताउनुभएको छ।