• २१ पुस २०८१, आइतबार

बसाइँसराइले रित्तिँदै गाउँ

blog

तम्घास समाचारदाता 

तम्घास, मङ्सिर ७ गते । बसाइँसराइको लहर चल्दा गाउँघर नै रित्तिँदै जान थालेका छन् । गाउँमा भन्दा सहरमा स्वास्थ्य र शिक्षा गुणस्तरीय हुने भएकाले सहरतर्फ बसाइँसराइ हुने गरेको छ । अहिले गाउँका घरमा ताल्चा लगाइएका छन् भने कतिपय घर जीर्ण अवस्थामा छन् । 

कालीगण्डकी गाउँपालिकाका १५६ परिवारले गाउँ छाडेर सहरतर्फ बसाइँ सरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म गाउँपालिकाबाट १५६ परिवारका ५४६ जना बसाइँसराइ गरी गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । पालिकाभित्रका सात वटामध्ये सबैभन्दा बढी वडा नम्बर २ अर्बेनी र वडा नम्बर ६ खड्गकोटबाट ३२ घरपरिवारले बसाइँसराइको प्रमाणपत्र लगेका छन् । वडा नम्बर १ बाट १९, २ बाट ३२, वडा नम्बर ३ मा नौ, ४ मा १५, ५ मा २४, ६ मा ३२ र वडा नम्बर ७ मा २५ परिवारले बसाइँसराइ गरी गएको गिरीले बताउनुभयो । 

एक वर्षमा पालिकाभित्र छ परिवारका १४ जना अन्यत्रबाट बसाइँ सरी आएको तथ्याङ्क रहेको गाउँपालिकाले जनाएको छ । बसाइँसराइ दर्ता नगरी गाउँबाट सहरमा भाडामा बस्ने र छोराछोरी पढाउन जानेको सङ्ख्या पनि बढी रहेको पाइन्छ । यसका साथै गाउँका जग्गामा उत्पादनभन्दा बढी मेहनत पर्ने र जङ्गली जनावरका कारण पनि बसाइँ सरेर जाने गरेको पाइएको छ । 

जङ्गली जनावरलाई नियन्त्रण नगरेमा बसाइँसराइ रोक्न नसकिने भन्दै सङ्घीय सरकारले उचित कानुन निर्माण गर्नुपर्ने भन्दै जिल्ला सभामा स्थानीय सरकारका प्रमुखले माग गरेका थिए ।  कृषि र पशुपालनलाई व्यावसायिक गराई बसाइँसराइ रोक्न सकिन्छ कि भन्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ ।