• ७ मंसिर २०८१, शुक्रबार

मरिण गाउँपालिकाले किसानलाई पेन्सन दिने

blog

सिन्धुलीको मरिण गाँउपालिकाको भवन ।

बाबुराम देवकोटा

सिन्धुलीमाढी, मङ्सिर ५ गते । सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई पेन्सनको सुविधा दिने भएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये मरिण गाउँपालिकाले जिल्लामा नै पहिलो पटक किसानलाई योगदानमा आधारित पेन्सन(निवृत्तिभरण) को व्यवस्था गर्न लागेको हो । 

किसानलाई पेन्सनको सुविधा दिन गाउँपालिका अहिले कार्यविधि बनाउनका लागि सरोकारवालाहरुसँग छलफलमा जुटेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष विमर्श मोक्तानका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रमा ‘कुटो कोदालो औजार छ हातमा, मरिण सरकार छ किसानको साथमा’ भन्ने मूल नारासहित बजेटको व्यवस्था गरी किसानलाई पेन्सन दिन लागेको हो । 

"फागुनसम्म कार्यविधि बनाई सक्ने गरी तयारी जुटेका छौं," उहाँले भन्नुभयो, "यो बीचमा अन्य विभिन्न कामले गर्दा नभ्याएर कार्यविधि बनाउन सकेनौ । त्यसका लागि अहिले सरोकारवालासँग छलफल गर्ने तयारी गर्दैछौं ।"

किसानलाई पेन्सन दिन यो वर्ष १० लाख रुपियाँ गाउँपालिकाले बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । "कस्ता किसानलाई पेन्सन दिने, त्यो कार्यविधिमा नै उल्लेख हुने छ," उहाँले भन्नुभयो, "सोही अनुसार प्राथमिकतामा परेका किसान छनाेट गरी पेन्सन दिन सुरु गर्छौ ।" गाउँपालिकाले 

किसानलाई अत्मनिर्भर बनाउन र कृषि पेसालाई सम्मान गर्न उक्त व्यवस्था गरेको उहाँको भनाइ छ ।

कार्यविधि अनुसार पहिचान भई छनाेटमा परेका किसानलाई वडा कार्यालयको सिफारिसमा पेन्सन उपलब्ध गराईने गाँउपालिका अध्यक्ष मोक्तानले सुनाउनुभयो । पहिलो वर्ष किसानलाई पेन्सन दिन लागेको र सफल भए उक्त कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारले एक दशक अघिदेखि नै किसानलाई पेन्सनको व्यवस्था गर्ने उल्लेख गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । तर मरिण गाउँपालिकाले यो वर्षदेखि किसानलाई पेन्सन दिने व्यवस्था गरेसँग किसान पनि उत्साहित भएका छन् ।

मरिण गाउँपालिका–२ कपिलाकोटका किसान लालबहादुर तामाङ् गाउँपालिकाले किसान मैत्री कार्यक्रम ल्याएको खुशी व्यक्त गर्नुहुन्छ । किसानलाई पेन्सन दिने व्यवस्थाले कृषि क्षेत्रको सम्मान भएको र यसको सफल कार्यान्वयन हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, "कृषि पेसालाई सबैले हेला गर्नाले भएका जमिन पनि बाँझै बस्दै गएको छ । गाउँको श्रमशक्ति बाहिरिने क्रम बढेको छ । सबै कुरामा परनिर्भर बन्नुपरेको अवस्था छ । किसानलाई पेन्सनको सुविधा भयो भने कृषि पेशा पनि आकर्षित हुन सक्छ ।"

त्यसो त मरिण गाउँपालिकाले अब किसानले उत्पादन गरेको कृषि उपजको न्यूनतम मूल्य तोकेर खरिद गरी बजारीकरणको व्यवस्था गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष मोक्तानले भन्नुभयो, "अब किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि स्थानीय सरकारले तोक्ने छ । त्यसको ढुवानी र बजारीकरण स्थानीय सरकारले नै गर्ने गरी कृषि पेशालाई आधुनिकीकरण र व्यावसायिक बनाउन गाउँपालिका लागेको छ । कृषिकै माध्यमबाट गाउँपालिकालई समृद्ध बनाउनेतिर लागेका छौं ।"

कृषि पेसामा मजदुरको अभाव हुन नदिन कृषिमा व्यावसायिकता ल्याउने किसानलाई अनुदानमा आधुनिक उपकरण, उन्नत जातको बिउबिजन, विभिन्न सिप तथा तालिमको  व्यवस्था मिलाउँदै आएको गाउँपालिकाले जनाएको छ ।