• ११ पुस २०८१, बिहिबार

जिप दुर्घटनामा ज्यान गुमाएको सनाखत

blog

दुर्घटनामा परेको जिप । तस्बिरः पुष्कर भण्डारी

पुस्कर भण्डारी

डडेल्धुरा, मंसिर ५ गते । चुरेको कच्ची सडकमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने दुई महिलाको सनाखत भएको छ । दैजि–जोगबुडा जोड्ने सडकको लिप्नानजिक नौलामा जिप दुर्घटनामा परी मृत्यु हुनेमा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढा रहेको प्रहरीले जानकारी दिएको छ । 

परशुराम नगरपालिका –९ नौलामा लु १ ज ४५७९ नम्बरको बोलेरो जिप मंगलबार अपरान्ह ३ः५० को समयमा दुर्घटनामा परेको थियो । जिप दैजिबाट डडेल्धुराको परशुराम नगरपालिका –११ सलेतातर्फ आइरहेको थियो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार उहाँहरुको घटनास्थलमै मृत्यु भएको थियो । उहाँका अनुसार दुर्घटनामा परी अन्य ९ जना घाइते हुनुभएको छ । उहाँहरुको उपचार धनगढीमा भइरहेको छ । 

दुर्घटनामा परेको जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १२ जना सवार थिए । चालक सकुशल रहेको र उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । कञ्चनपुरको दैजिबाट डडेल्धुराको भित्रिमधेश क्षेत्र जोगबुडा जोड्ने दैजि–लिप्ना–जोगबुडा सडक छोटो सडक बाटो हो ।