• ११ पुस २०८१, बिहिबार

‘चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो’

blog

‘सानो संसार’ सिद्धार्थ पुडासैनी निर्देशित पहिलो चलचित्र हो । यसअघि उहाँले विज्ञापन लेखनमा काम गर्नुभएको थियो । उहाँले पाँच वटा लघु चलचित्र र चार वटा सिरिजको निर्देशन गरिसक्नुभएको छ । पहिलो चलचित्र आफूले सोचेभन्दा खासै नचले पनि चलचित्रमै जुटिरहने उहाँको अठोट छ । चलचित्र ‘सानो संसार’ नचल्नुको कारणलाई मुख्य विषय बनाएर गोरखापत्रका लागि सुकृत नेपालले निर्देशक पुडासैनीसँग गर्नुभएको कुराकानी :

 चलचित्र ‘सानो संसार’ खासै चलेन, किन ? 

चलचित्र खासै नचलेको भन्दा पनि खास गरी पहिलो प्रदर्शन भएको समयमा पानी परेर त्यसले पनि चलचित्रलाई प्रभाव पारेको थियो । पहिलो दुई दिन पानी पर्नाले पहिलो दिनभन्दा दोस्रो दिन कम, दोस्रो दिनभन्दा तेस्रो दिन कम हुँदै गएर सो घट्दै गयो । पहिलो दुई दिन पानीले गर्दा मान्छे जान नै सकेनन् । मान्छे नगएपछि हलवालाले पनि आफ्नो व्यवसाय नै त हेर्ने हो । अरू चलचित्र चलाउन थाले हाम्रो सो कम हुँदै गए । दसैँतिहारको झमेलामा पनि चलचित्र मिसिन गएको हो । चलचित्रको राम्रो प्रचारप्रसार गर्न पाएको भए चल्थ्यो पनि होला । 

त्यतिबेला चलचित्रले हाइप पनि लिइसकेको थियो । पानी परेपछि चलचित्र उतारियो र फेरि चलचित्र प्रदर्शन गर्दा दर्शकलाई चलचित्र नचलेर पुनः प्रदर्शन गरिएको हो भन्ने जस्तो पनि भएछ । फेरि हलवालाले पनि पुनः प्रदर्शन भनेर राखिदिए । अब पुनः प्रदर्शन गर्नुभनेको केही न केही नराम्रो भएर होला भन्ने छाप दर्शकमा पर्न पनि गयो होला । त्यतिबेला धेरै चलचित्र पनि चलेको थियो र दर्शकमा कुन चलचित्र हेर्ने र कति वटा चलचित्र हेर्ने भन्ने अन्योल पनि थियो । दर्शकले नयाँ अनुहारलाई खासै रुचाउने जस्तो पनि मलाई लागेन । फेरि जति जनाले चलचित्र हेर्नुभएको छ उहाँहरूले चलचित्र राम्रो छ भन्नुभएको छ । 

 विदेशमा त राम्रो ‘सो’ हरू पाउनुभएको होला  ?

हामी चलचित्र विदेशमा देखाउनका लागि पालो कुरेर बसिरहेका छौँ । विदेशमा अरू चलचित्र प्रदर्शन भइरहेको हुनाले उक्त चलचित्र नहटेसम्म पालो पाउनका निम्ति हामीलाई अलिकति गाह्रो नै छ । 

 हलले पर्याप्त ‘सो’ उपलब्ध नगराउनुको कारण के हो ? 

हलले पर्याप्त ‘सो’ नदिएको होइन । पहिला दिन हलले राम्रो सो दिएको थियो । हरेक हलमा दुईदेखि तीन वटा सो दिएको हो तर यस्तो पानी प¥यो कि कोही घरबाट निस्किने सक्ने स्थिति थिएन । पानी परेपछि  तीन वटा सोबाट दुई वटा त्यसपछि त रद्द नै भयो । हलको प्रोजेक्टर चलाएको पैसा पनि नउठ्ने भएपछि त ‘सो’ चल्ने कुरै भएन । यसरी घटेपछि चलचित्रलाई हलवाला र दर्शकले विश्वास नै गर्न छाडे । 

 ‘सानो संसार’ कस्तो खालको चलचित्र हो ? 

एउटा निम्न मध्यम वर्गीय परिवारमा कान्छी छोरीको विदेश जाने सपना छ । कान्छी छोरीले बुवाआमालाई थाहा नदिई पैसादेखि लिएर सबै आफैँले मिलाएर आई–ट्वान्टी मगाउँछिन् र विदेश जाने निधो गर्छिन् । अब विदेश त जाने तर कसरी ? त्यसका लागि पनि पैसाको आवश्यकता पर्छ । कहाँबाट ल्याउने पैसा ? कान्छी छोरीलाई विदेश पठाउन बुवाले गरेको सङ्घर्ष । छोरीहरूले त्यो चिज पाउनका लागि आफ्नो परिवारलाई कसरी मनाउँछन्  ? एउटा सानो सपना जस्लो उनीहरूको भविष्य बदल्न सक्छ त्यो चिजका लागि गरिएको कथा हो चलचित्र ‘सानो संसार’ । चलचित्र मध्यम वर्गीय परिवारको सोच र बुवा–छोरीबिचको सम्बन्धको कथा हो । 

 चलचित्र नयाँ अनुहारका कलाकारले गर्दा पनि नचलेको हो त ? 

म कलाकारको अभिनयमा सम्झौता गर्न सक्दिन । कलाकारको अभिनयको जुन तारिफ भइरहेको छ त्यो चिज मैले अन्य नाम चलेका कलाकारलाई अभिनय गराएको भए पाउँदैनथेँ होला । मैले थाहा पाए अनुसार यहाँ प्रायः कलाकारको दिन किन्नुपर्ने हुन्छ । फेरि मैले सिरिज गर्दा पनि यही कलाकारलाई लिएको थिएँ । उनीहरू यस्तो परिवार जस्तो भइसेकका थिए कि अन्य कलाकार ल्याउँदा त्यही पारिवारिक जमघट फेरि भेटिएला त भन्न सकिन्न नि ।