• ११ पुस २०८१, बिहिबार

‘वाउ’ महोत्सवमा साङ्गीतिक प्रस्तुति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ५ गते । नाटक, गीत/सङ्गीत, चित्रकला, चलचित्र प्रदर्शनी, कला कार्यशालालगायतको कार्यक्रमसहित वुमन अफ द वल्र्ड (विश्वका महिला, वाउ) को सातौँ संस्करण अन्तर्गत कला महोत्सवको तयारी पूरा भएको छ । 

काठमाडौँ महानगरपालिका, ब्रिटिस काउन्सिल, द वाउ फाउन्डेसनसँग सहकार्यमा शनिबार र आइतबार राजधानीमा आयोजना हुने वाउ महोत्सवमा गायिका कुन्ति मोक्तान, सुवानी मोक्तान, कथा घेरा थिएटर, कर्णाली कला केन्द्र, गायिका रचना दाहाल र कलाकार गौमाया गुरुङसहित दुई सय महिला कलाकारले नाटक, गीत/सङ्गीतको प्रस्तुति दिने जानकारी दिइएको छ । 

मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महोत्सवबाट महिलाले हासिल गरेको विविध कलात्मक आयामको प्रस्तुतिसहित हर्ष उल्लामय वातावरणमा समानताको आवाज बुलन्द हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महिला हिंसाविरुद्धको दिवस तथा अभियानमा सधैँ पीडा वा दुःखको मात्र चर्चा नगरी महिला तथा किशोरीले गीत/सङ्गीत, नाटक र चित्रकलालगायतको क्षेत्रमा हासिल गरेका उपलब्धिलाई  देखाउँदै पनि मनाउन सकिने वाउ महोत्सवको विशेष लक्ष्य रहेको बताउनुभयो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले सन् २०१७ देखि वाउ सांस्कृतिक महोत्सवको आयोजना गरी नेपालमा उपलब्धिलाई प्रवर्धन गर्दै लैङ्गिक समानताको आवाजलाई कलाको माध्यमबाट निरन्तर सुनाउँदै आएको बताउनुभयो ।

ब्रिटिस काउन्सिलका निर्देशक रुस्तम मोदीले समानताको मुद्दामा महानगरसँग सहकार्यमा  गरेर सांस्कृतिक महोत्सव गर्ने अवसरका लागि धन्यवाद व्यक्त गर्नुभयो । 

लैङ्गिक समानता र समावेशीकरणका लागि कला, गीत/सङ्गीतलगायत सफलताका कथाको प्रस्तुतिमार्फत दलित, सीमान्तकृत वर्ग, अपाङ्गता, यौनिक अल्पसङ्ख्यकलगायत सबैको सहभागितामा लैङ्गिक समानताका लागि आवाज बुलन्द गर्ने यस अभियानमा विश्वभरका ५० लाखभन्दा बढी व्यक्तिले सहभागिता जनाएको आयोजकले जनाएको छ ।