• ७ पुस २०८१, आइतबार

विपतमा चौध वर्षयताकै बढी मानवीय क्षति

blog

काठमाडौँ, मङ्सिर ५ गते । नेपालमा यस वर्षको मनसुनमा प्राकृतिक विपत्तिले १४ वर्षयताकै बढी मानवीय क्षति गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा प्राकृतिक विपत्तिले ठुलो मानवीय क्षति पुर्‍याएको छ । 

प्राधिकरणका अनुसार प्राकृतिक विपत्तिबाट यो वर्ष ४९५ जनाको ज्यान गएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार बाढी, पहिरो, भीषण वर्षा र चट्याङसहितको प्राकृतिक विपत्तिले अत्यधिक मानिसको ज्यान लिएको हो । 

उहाँका अनुसार ती घटनामा बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् २७६ जना र मधेश प्रदेशमा सबैभन्दा कम अर्थात् १६ जनाको विपत्बाट ज्यान गयो । ६६ जना बेपत्ता हुनुका साथै ५२२ जना घाइते भए । मनसुनको अवधिमा १० हजार ८२३ परिवार प्रभावित भए । सबैभन्दा बढी पहिरोबाट ३४४ जनाको मृत्यु भयो । बाढीबाट ९१ जना, चट्याङबाट ५२ जना र वर्षाबाट आठ जनाको मृत्यु भयो । 

पहिरोले चितवनको सिमलतालमा दुई वटा बस र काठमाडौँ धादिङ सिमानाको झ्याप्ले खोलामा दुई वटा बस तथा माइक्रोबस पुरिँदा बढी मानवीय क्षति बढेको प्रवक्ता भट्टराईले बताउनुभयो । 

१४ वर्षको अवधिमा पहिरोमा परेर एक हजार ५८५ जनाको मृत्यु भयो । बाढीले ९१३ जना, चट्याङले ५७० जना र भीषण वर्षाका कारण १३० जनाको मृत्यु भयो ।

यस वर्ष मनसुनको अन्तिम समय असोज १० गतेदेखि १३ गतेसम्म परेको अत्यधिक वर्षाका कारण आएको पहिरो, बाढी तथा डुबानले मानवीय र भौतिक क्षति बढी गरेको प्राधिकरणले जनाएको छ । सो अवधिमा मात्र २५० जनाको मृत्यु हुनाको साथै १८ जना अझै बेपत्ता छन् । यीबाहेक आगलागी, जनावरको आक्रमण, लेक लागेरलगायतका अन्य विपत्मा थप ३७ जनाको मृत्यु भएको छ । 

२०७७ सालको मनसुनको अवधिमा ३८२ जनाको ज्यान गएको थियो । त्यस्तै २०७३ सालमा २८९ जना, २०६८ सालमा २८० जना, २०७४ सालमा २७२ जना, २०७१ र २०७० सालमा २५५ र २०७६ सालमा २०३ जनाको ज्यान मनसुनको समयमा आएको प्राकृतिक विपत्तिले लिएको थियो । गत वर्ष मनसुनको अवधिमा प्राकृतिक विपत्तिले ९२ जनाको ज्यान गएको थियो । 

पछिल्लो १४ वर्षमा मानवीयसँगै भौतिक क्षति पनि बढी भएको छ । प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार मनसुनको अवधिमा भएको प्रारम्भिक विश्लेषणले ४६ अर्ब ६८ करोड ४३ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । 

मनसुनको विपत्ले सडक, पुल, जलविद्युत्सहितका भौतिक पूर्वाधार गरेर झन्डै ३९ अर्ब बराबरको क्षति गरेको छ । त्यस्तै कृषि तथा पशुधनमा झन्डै छ अर्ब, शिक्षामा सात करोडभन्दा बढी, स्वास्थ्यमा दुई करोडभन्दा बढी, सिँचाइमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति मनसुनका अवधिमा भएको छ ।