• ७ मंसिर २०८१, शुक्रबार

प्राचीनकालमै थिए कण्डम

blog

स्वास्थ्य र उपचार क्षेत्रमा जत्ति नै प्रगति भएको किन नहोस् कन्डमको मूल अवधारणा सयौँ वर्षदेखि एकै खालको छ । निःसन्देह प्रविधि, सरसामान र मानव शरीरविज्ञानप्रतिको बुझाइमा समयसँगै ठूलो परिवर्तन आएको छ तर सङ्क्रामक रोगबाट जोगिन तथा गर्भनिरोधका लागि संभोगका बेला सुरक्षाका लागि बाह्य वस्तु प्रयोग गर्ने तौरतरिका र विचार उही छ । 

कन्डमको विकास कहिले र कहाँ भयो भन्ने सटिक उत्तर दिन गाह्रो छ । प्राचीनकालका केही प्रमाणले समेत फरक फरक सङ्केत गर्छन् । तथापि केही विद्वान्को सुझाव के छ भने कन्डम सर्वप्रथम प्रयोग गर्नेमा प्राचीन इजिप्टवासी पनि पर्छन् । प्राचीन इजिप्टमा प्रयोगमा आएको कन्डम सकभर ‘लिनन’ ले बनाइएको थियो । प्राचीन इजिप्टमा ‘लिनन’ ले मात्र कन्डम बनाइएको चाहिँ होइन पछि त्यहाँ भेडा वा बाख्राको आन्द्राले समेत कन्डम बनाइएको प्रमाण फेला परेका छन् । विशेष गरी भिरिङ्गीको सङ्क्रमणबाट जोगिन त्यसरी पशुको आन्द्राले कन्डम बनाउने गरिएको थियो । 

यसै गरी प्राचीन चीनमा ‘सिल्क पेपर’ ले कन्डम बनाइयो र तेल वा अन्य चिल्लो पदार्थ दलेर ती कन्डम प्रयोग गरिन्थे । कतिपय कन्डम त पातलो छालाले समेत त्यहाँ बनाइए ।  

पुनर्जागरण कालमा वैज्ञानिक र चिकित्सा ज्ञानमा धेरै सुधार आएसँगै कन्डममा समेत विकास भयो । डिट्रिक मेडिकल हिस्ट्री सेन्टरको प्रदर्शनीमा राखिएको सामग्री अनुसार भिरिङ्गी महामारीका कारण इस्वी संवत्को १५ औँ शताब्दीको युरोपमा कन्डम व्यापक प्रयोग गरिन्थ्यो । सन् १५६४ मा इटालीका एनाटोमिस्ट ग्याब्रियलो फालोपियोले प्राचीन भनिएका कन्डमलाई यसरी व्याख्या गरे, भिरिङ्गीबाट जोगिन ‘लिनन’ ले बनाइएको खोललाई एउटा रिबनले बाँधेर प्रयोग गरिन्थ्यो । तैपनि भेडाको आन्द्रा वा माछाको छालाले बनाइएका कन्डम लोकप्रिय नै थिए । ती कन्डम एक पटक प्रयोग गरी फाल्ने गरिँदैनथ्यो, बरु धोई पखाली पुनः प्रयोगमा ल्याइन्थ्यो । कन्डममा प्रायः औषधि र मलम लगाउने चलनसमेत थियो । 

कन्डम शब्द सर्वप्रथम सन् १७०६ मा लर्ड वेलहेवनको कवितामा छापिएको थियो । सन् १७८५ मा प्रकाशित फ्रान्सिस ग्रोसको पुस्तक ‘अ क्लासिकल डिक्सनरी अफ दी भल्गर टङ्ग’ समेत कन्डम शब्द लेखिएको देखिन्छ । त्यस पुस्तकमा कन्डमलाई ‘ऋगलमगm’ भनिएको छ र त्यसलाई यसरी व्याख्या गरिएको छ, भेडाको सुकाइएको एक यस्तो आन्द्रा जसलाई पुरुषले यौन सङ्क्रमणबाट बच्नका लागि संभोगका बेला लगाउने गर्छन् ।   

इस्वी संवत्को १७ औँ शताब्दीमा काबुटो– गाटा भनेर चिनिने अलि फरक खालको कन्डम जापानमा कछुवाको खपटाबाट बनाइयो । त्यसकालमा जापानीले छालाबाट कावा–गाटा कन्डमसमेत बनाएका थिए ।  

इस्वी संवत्को १९ औँ शताब्दीको सुरुमा कन्डम ‘बाउड्रुचेस’, ‘फ्रेन्च लेटर्स’, ‘सेफ्स’, ‘आर्मर’ र ‘मेसिन्स’ आदि कोड नामले समेत चिनिन थाल्यो । यी कन्डम रक्सीभट्टी, हजामको पसल, वेश्यालय र घुमन्ते व्यापारीबाट किन्न सकिन्थ्यो । तथापि सन् १८४० सम्म पनि कन्डम व्यापक रूपमा प्रयोगमा आउन सकेको थिएन किनभने त्यतिबेला हप्तामा काम गरेको पारिश्रमिक लगभग १४ डलर थियो र एउटा कन्डमको मूल्य एक डलर पर्दथ्यो ।  

त्यस समयमा वैज्ञानिकले रुखबाट निकालिएको एक खालको रबर ‘गट्टा पर्चा’ र इन्डिया रबरबाट ‘वाटरप्रुफ’ कन्डम बनाउने कोसिस गरिरहेका थिए तर सफलता पाउन सकिरहेका थिएनन् । रबरबाट सुरुमा बनाइएका कन्डम धेरै बाक्ला र फुट्थे । 

सन् १८४४ मा चाल्र्स गुडइयरले जब लचिलो, बलियो ‘भल्केनाइज्ड रबर’ विकास गरे कन्डमको विकासमा नयाँ मोड आयो । सन् १८५५ मा ‘भल्केनाइज्ड रबर’ बाट बनाइएको कन्डम बजारमा आयो र बजारमा कन्डमको मूल्य धेरै नै घट्यो । अनि कन्डमको प्रयोग व्यापक हुन गयो तर यसमा पनि अवरोध उत्पन्न हुन धेरै समय लागेन । सन् १८७३ मा लागू गरिएको कमस्टक कानुनले अमेरिकीलाई कन्डम खरिद गर्नमा समस्या उत्पन्न गरिदियो । यस कानुनले यौनसँग सम्बन्धित कुनै पनि सामान हुलाकबाट पठाउन, विज्ञापन गर्न र बिक्री गर्नमा प्रतिबन्ध लगाइदियो । रोग रोकथामका लागि मात्र कन्डम बिक्री वितरण गर्न पाइने तर गर्भनिरोधका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाले कन्डमको बजार नराम्ररी प्रभावित भयो । 

सन् १९१०–१९२० को दशकसम्म कन्डमलाई परिवार नियोजनको साधनका रूपमा नियमित प्रयोग गर्न पाइएन । अझ महिलाले त कन्डम किन्न नै पाउँदैनथे ।  प्रथम विश्वयुद्धको सुरुमा फ्रान्सेली र जर्मनेली सेनाले आआफ्ना सैनिकलाई कन्डम प्रयोग गर्न दिने निर्णय गरे तर अमेरिकी र बेलायतीले सुरुमा त्यस्तो अनुमति दिएनन् किनभने उनीहरूलाई डर थियो सैनिकहरूमा विवाहेत्तर गतिविधि बढेर मनोबल खस्किने छ । पछि सन् १९१७ मा बेलायतले र त्यसको एक वर्षपछि अमेरिकाले आआफ्ना सैनिकलाई कन्डम प्रयोग गर्न दिने भए किनभने तिनीहरूका लगभग पाँच प्रतिशत सैनिक यौन रोगबाट ग्रसित भएका थिए । 

प्रथम विश्वयुद्ध सकिएलगत्तै नयाँ खालको कन्डम बनाइयोे । सन् १९२० मा लेटेक्स रबर विकास गरियो र त्यसबाट कन्डम अझै पातलो र टिकाउ भयो । द्वितीय विश्वयुद्धका बेला त सैन्य तालिम अवधिमै व्यवस्थित रूपमै कन्डमका बारेमा सैनिकलाई जानकारी दिने र प्रवर्धन गर्ने काम भएको थियो । अमेरिकाका सबै सैनिकले अनिवार्य रूपमा कन्डम बोक्नुपर्ने र सैनिक पसलबाट समेत किन्न सक्ने व्यवस्था गरियो ।

कन्डम परिवार नियोजनका लागि समेत उत्तम साधन भएकाले विश्वयुद्धपछि गर्भनिरोध प्रयोजनमा कन्डमको प्रयोगले व्यापकता पाउन थालेको थियो । सन् १९८० को दशकमा एचआइभी/एड्स रोग देखा परेपछि त कन्डम यौन सङ्क्रमण रोक्ने मुख्य साधन बन्दै आएको छ । 

–युवामञ्च