शेरबहादुर राई
ओखलढुङ्गा, मंसिर ३ गते । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार टेकाराज भट्टराई निर्विरोध चयन हुनुभएको छ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार भएको उम्मेदवारी दर्तामा जिल्ला समन्वय समितिको प्रमुख पदमा भट्टराईको मात्र उम्मेदवारी परेको थियो । यससँगै उहाँ एकल उम्मेदवार हुनुभएको हो । जिल्ला सभामा नेपाली काँग्रेसको बहुमत छ ।
अन्य दलहरुले जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदवारी दिएनन् । त्यसैले भट्टराई निर्विरोध निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयबाट आधिकारिक घोषणा हुन बाँकी छ । ओखलढुङ्गाका आठ स्थानीय तहमा १६ मत रहेका छ । जसमा नेपाली काँग्रेसका नौ, नेकपा (एमाले) को पाँच, नेकपा (माओबादी केन्द्र) को एक र जनता समाज बादी पार्टीको एक मत छ ।
नेकपा (एमाले) ले विज्ञप्ति जारी गरेर भट्टराईलाई समर्थन गरेको थियो । भट्टराई पार्टीको जिल्ला कार्यसमितिका पूर्वसचिव तथा पूर्व महाधिवेशन प्रतिनिधि हुन् । भट्टराईसँगै नेपाली काँग्रेसका जिल्ला सचिव अजय लुइँटेल र दलित संघका अध्यक्षसमेत रहेका पूर्व महनधिवेशन प्रतिनिधि होमबहादुर विकले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
पार्टी जिल्ला समितिले तीन जनालाई नै सिफारिस गरेपनि उम्मेदवारहरु विच सहमति जुटाएर भट्टराईलाई समन्वय प्रमुखमा अघि सार्ने सर्वसहमत निर्णय भएपछि भट्टराईलाई समन्वय समिति प्रमुख हुने बाटो खुलेको हो ।
कुशल संगठक ६७ वर्षीय भट्टराई राजनीति तथा सामाजिक रुपमा सक्रिय हुनुहुन्छ । भट्टराई काँग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाको पूर्व सचिव र महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित हुन सहयोग गर्ने सम्पुर्णलाई वहाँले धन्यवाद दिनुभएको छ ।
यसअघि जिल्ला समन्वय समितिको प्रमुख डिल्लीराम खनालको उपचारका क्रममा २०८० भदौ १३ गते निधन भएको थियो । क्यान्सरका कारण ७२ वर्षको उमेरमा खनालको निधन भएपछि उक्त पद रिक्त थियो । सो पदका लागि उपनिर्वाचन भएको हो ।