• २५ पुस २०८१, बिहिबार

प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान

blog

काठमाडौँ, मङ्सिर ३ गते । प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गरिएको छ । प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ का अवसरमा विशेष सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले प्रतिजैविक औषधीको उचित प्रयोग गर्न आह्वान गर्नुभएको हो ।

“प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरवी गर्न आवश्यक छ र यसका लागि आजैदेखि नै सबैले जुट्नुपर्ने आवश्यकता छ । सबैले आ–आफ्नो क्षेत्रबाट यस चुनौतीको न्यूनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षाका साथ प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न सबैलाई आह्वान गर्दछौँ ।”सन्देशमा उल्लेख छ ।

नेपाल जस्तो सङ्क्रामक रोगहरूको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपन्छी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधीहरूको मुख्य भूमिका रहेको सन्देशमा उल्लेख गरिएको छ । तर विश्वव्यापी रूपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण यस्ता बहुमूल्य प्रतिजैविक औषधीहरूको क्षमता घट्न गई सङ्क्रामक रोगहरूको प्रभावकारी उपचारमा चुनौती थपिएको सन्देशमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिजैविक प्रतिरोध कारण विश्वभर करिब १२ लाख मानिसको मृत्यु भइरहेको छ । यसलाई बेलैमा सम्बोधन नगरेमा सन् २०५० सम्ममा करिब ५० लाख मानिसको मृत्यु हुने तथा सन् २०३० सम्ममा ३४ खर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आङ्कलन गरिएको छ ।

यसबाट सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा बाधा पुग्न सक्ने पनि औँल्याइएको छ । 

मङ्सिर ३ देखि ९ गतेसम्म प्रतिजैविक प्रतिरोध बुझौँ, अनजैबाट राकथाममा जुटौँ भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ मनाइँदै छ ।