• ८ मंसिर २०८१, शनिबार

चौथो टी-२० नेत्रहीन विश्वकपको तयारीमा नेपाली टोली

blog

लिलाधर वली

घोराही, मङ्सिर ३ गते । मुगु निवासी पदम कार्की अहिले उमेरले १७ वर्ष हुनुभयो । दृष्टिविहीन पदम क्रिकेट खेल्नुहुन्छ । क्रिकेट भनेपछि हुरुक्कै हुने पदमले नेपालको प्रतिनिधित्व गर्दै पाकिस्तानमा हुन थालेको चौथो टी–२० नेत्रहीन विश्वकप प्रतियोगितामा सहभागी हुने अवसर पाएपछि अहिले बन्द प्रशिक्षणमा रहनुभएको छ । 

विश्वकपमा सहभागी हुने नेपाली टोलीको अन्तिम चरणको बन्द प्रशिक्षण लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चलिरहेको छ । त्यही बन्द प्रशिक्षणमा सहभागी भएर प्रतियोगिताको तयारी गरिरहनुभएका पदम नेपालको प्रतिनिधित्व गर्दै यही मङ्सिरको ८ गतेदेखि १८ गतेसम्म पाकिस्तानमा हुन लागेको चौथो टी–२० नेत्रहीन विश्वकप प्रतियोगितामा सहभागी हुनुहुनेछ । 

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको बन्द प्रशिक्षण सहभागी पदम जस्तै देशभरबाट छनौट भएका खेलाडीले मेहनतका साथ तयारीमा जुट्नुभएको छ । पदमले १० मिटरभन्दा पर देख्न सक्नु हुन्न । 

बाल्कोट भक्तपुर निवासी निश्चल सिवाकोटी पनि पाँच मिटरसम्मको दुरीमा रहेका बस्तुको बारेमा महसुस गर्न सक्नुहुन्छ । तर टाढाको बस्तुको अवस्था सङ्केतबाट थाहा पाउनुहुन्छ । निश्चल पनि पदम जस्तै अहिले विश्वकप क्रिकेटको तयारीमा व्यस्त हुनुहुन्छ । पहिलो पटक बन्द शिविरमा सहभागी हुँदै विश्वकप खेल्ने अवसर पाउनुभएका निश्चल खेलका लागि निकै उत्साहित हुनु भएको छ ।

सागर लामा नेत्रहीन क्रिकेटको सिनियर खेलाडी हुनुहुन्छ । उहाँले यसअघि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सक्नुभएको छ । यो पटक नेपालको टोली निकै सन्तुलित र परिपक्व देखिएकाले विश्वकप उचाल्ने लक्ष्यका साथ तयारीमा जुटेको सागर बताउनुहुन्छ । 

लमही क्रिकेट रङ्गशालामा आइतबार बन्द प्रशिक्षणका क्रममा भेटिनुभएका अर्का खेलाडी सन्त पहरीलाई यो पटक नेपालले विश्वकपमा राम्रो प्रदर्शन गर्ने बताउनुहुन्छ । बन्द प्रशिक्षणका लागि समय केही कम भए पनि पाएको अवसर पूर्ण सदुपयोग गर्दै तयारी गरिरहेको उहाँ बताउनुहुन्छ । 

बन्द प्रशिक्षणमा रमेशबहादुर बानियाँको कप्तानीमा उपकप्तान दमबहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेमबहादुर क्षेत्री, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सुनिल रानामगर, नरेश चौधरी सहभागी छन् ।

पुराना तथा अनुभवी खेलाडीसहित केही नयाँ प्रतिभावान् खेलाडी समावेश गर्दै विश्वकपको तयारीमा जुटेको कप्तान रमेशबहादुर बानियाँ बताउनुहुन्छ ।  प्रतियोगिताका लागि तयारीको समय थोरै भए पनि मन, वचन र कर्मलाई परिणाममा रूपान्तरण गर्ने गरी टोली लागिरहेको टोलीका प्रमुख प्रशिक्षक सञ्जु केसी बताउनुहुन्छ । उहाँले विगतका टोली भन्दा यो पटकको टोली धेरै सन्तुलित बनेको हुँदा यो पटक विश्वकपमा राम्रो प्रदर्शन गर्ने बताउनुहुन्छ । 

कात्तिक २२ गतेदेखि चलेको बन्द प्रशिक्षण मङ्सिर ३ गते आजसम्म चल्ने छ । बन्द प्रशिक्षण सकिएपछि टोली प्रतियोगिताका लागि पाकिस्तान जाने छ । 

बन्द प्रशिक्षणमा कात्तिक ४ र ५ गते काठमाडौँमा भएको छनोट प्रतियोगिताबाट छनोटमा परेका १५ खेलाडी रहनुभएको छ । 

प्रशिक्षणमा सन २०१८ र २०२२ मा विश्वकप खेलिसकेका दश जना पुराना र पाँच जना नयाँ खेलाडी छन् । प्रतियोगितामा सहभागी हुनका लागि बन्द प्रशिक्षणमा वि–वान अर्थात् कत्ति पनि आँखा नदेख्ने पाँच जना, वि–टु अर्थात् पाँच मिटरसम्म आँखा देख्ने पाँच जना र वि–थ्री अर्थात् दश मिटरसम्म अलिअलि आँखा देख्ने पाँच जना खेलाडी सहभागी छन् । 

टी–२० विश्वकप मङ्सिर ८ देखि १८ गते (नोभेम्बर २१ देखि डिसेम्बर ३) सम्म पाकिस्तानमा हुँदैछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत, श्रीलङ्का, बङ्गलादेश, साउथ अफ्रिका, न्युजिल्याण्ड र अफगानिस्तान गरी ८ देश सहभागी हुनेछन् ।