• ७ मंसिर २०८१, शुक्रबार

बसको ठक्करबाट बालिकाको मृत्यु : स्थानीयद्वारा बसमा आगजनी

blog

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर ३ गते । सुनसरीको इटहरीमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । आइतबार सुनसरी इटहरी उपमहानगरपालिका-१० रिलाईन्स कम्पनीस्थित काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख.४५७४ नम्बरको बसले ठक्कर दिँदा १४ वर्षीया बालिका सम्झना यादवको मृत्यु भएको हो । 

आइतबार इटहरी उपमहानगरपालिका-१० डुमरटका टोलका नारायण यादवको १४ वर्षीया छोरी सम्झना यादवलाई बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएकोमा तत्काल घटनास्थलमा रहेका स्थानीयहरूले ढुङ्गामुढा गर्दै बसमा आगजनी गरेको छ । आक्रोशित स्थानीयले बसमा गरेको आगजनीबाट जोगाउन आगो निभाउन प्रहरी टोली र दमकललाई समेत रोकेको थियो । 

आगो निभाउन खोज्दा ५००-६०० जनाको समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गर्दा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सुमन कुमार तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय पकली र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट ११८ जनाको टोली समेत खटेको थियो । 

स्थितिलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले ढुङ्गामुढा गरेकोले तत्काल प्रहरीले लाठी, चार्ज, अस्र्यु ग्याँस र हवाई फायर समेत गरिएको थियो । घटनामा निम्न प्रहरी कर्मचारीहरू समेत घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो । उहाँले सवारी चालक मोरङको विराटनगर महानगरपालिका वडा नं. १३ का २७ वर्षीय अमित श्रेष्ठ इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

घटनास्थलमा आफू सहित २० बढी सुरक्षाकर्मी घाइते भएको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनुभयो । मृतक बालिकाको लास कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । बसमा भएको आगजनी नियन्त्रणका क्रममा प्रहरीहरू प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य, प्रहरी नाउव उपरीक्षक लक्ष्मी भण्डारी, प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, प्रहरी निरीक्षक सागर तिमल्सिना, प्रसनि आनन्द पोख्रेल, प्रहरी हवलदार गोमा राउत सहित घाइते हुनुभएको छ । 

त्यसैगरी प्रहरी सहायक निरीक्षक भूपराज पोख्रेल, प्रहरी वरिष्ठ हवलदार समीर सापकोटा, अयोधी यादव, प्रहरी हबलदार सरोज पोख्रेल, श्याम नारायण यादव, कल्याणी आचार्य, सशस्त्र प्रहरी हबलदार राकेश न्यौपाने, दीपक राई, लोक नाथ धमला, अशोक राई , गणेश तिमल्सिना, सुमन खड्का, सन्दीप कुमार मोक्तान, प्रकाश दाहाल सहित २८ जना घाइते भएका छन् । 

यसैबिच जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीबाट ईन्सासबाट ११ राउण्ड हवाई फायर, ग्यास गनबाट ७ सेल, इलाका प्रहरी कार्यालय इटहरीको टोलीबाट ग्यास गनबाट ३ सेल, एसएलआरबाट २ राउण्ड (जङ्गी), दुहबी दङ्गाको टोलीबाट ३०३ राइफलबाट २५ राउण्ड हवाई फायर (ब्ल्याक), सटगनबाट ७ वटा रबर काटिज र ग्यास गनबाट १ सेल फायर गरी जम्मा फायर ईन्सासबाट ११ राउण्ड, ग्यास गनबाट ११ सेल, ३०३ राइफलबाट २५ राउण्ड ब्याङ्कक, एसएलआरबाट २ राउण्ड, सटगनबाट ७ काटिज गरी ५६ राउण्ड फायर गरेको जनाएको छ । 

यस्तै, उता सर्वपक्षीय छलफल गरिएको छ । इटहरीको नगर प्रमुखको कार्य कक्षमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, पीडित पक्षका मानिसहरू बिच छलफल भएको छ । छलफलमा अरू थप हिंसा भड्कन नदिने, पीडितलाई यथाशक्य चाँडो न्याय दिने र घटना सम्बन्धमा सुक्ष्मरुपमा अध्ययन अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गरिने निर्णय भएको तिम्सिनाले जानकारी दिनुभयो ।