• ८ मंसिर २०८१, शनिबार

सत्यवतीमा ३२ लाख ८१ हजार भेटी सङ्कलन

blog

भक्तजनले चढाएका भेटी गन्दै समितिका सदस्यहरु । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर ३ गते । चिच्याएर वर माग्ने मेला सकिएपछि भेटी गणना सुरु गरिएको छ । पाल्पाको तिनाउ –४, सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको वर माग्ने मेलामा भक्तजनले मन्दिरमा चढाएका भेटी गणना सुरु गरिएको सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिले जनाएको छ । 

पाल्पाको तिनाउ–४, सत्यवतीमा लागेको वर माग्ने मेलाबाट ३२ लाख ८१ हजार ८७० रुपियाँ भेटी सङ्कलन भएको छ । चिच्याएर वर माग्ने मेलामा आएका भक्तजनले चढाएका भेटीबाट झण्डै ३३ लाख रुपियाँ मन्दिरको आम्दानी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय भद्रभलादमी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा आइतबारदेखि भेटी गन्न सुरु गरिएको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । 

उहाँका अनुसार आइतबार बिहानदेखि बेलुकीसम्म २६ लाख बढी भेटी सङ्कलन भएको छ । उक्त भेटी बैङ्कमा दाखिला गरिएको बताइएको छ । बाँकी भेटीको गणना जारी रहेको उहाँले जानकारी दिनुभयो । 

मन्दिरमा भक्तजनले चढाएका नगदसहित बहुमूल्य धातुबाट बनेका गहनाको पनि गणना गर्ने र सार्वजनिक गरिने अध्यक्ष गाहाले बताउनुभयो । गत वर्ष १८ लाख ५० हजार भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिले जनाएको छ । 

चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख भक्तजन सहभागी भएको अनुमान गरिएको छ । सत्यवतीमा हरेक वर्ष तिहार पछिको पूर्णिमामा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बिच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको जनविश्वास रहेको छ । सत्यवती बज्यै सुस्त श्रवणकी भएकाले यहाँ आउने भक्तजनले चिच्याएर आफूले चिताएको वर मागेमा पूरा हुने विश्वास रहेको छ ।