• ८ मंसिर २०८१, शनिबार

कटुवाखोला पुल तीन वर्षदेखि अलपत्र

blog

घोराही उपमहानगरपालिका–१७, घनिबगिया र पनौरा जोड्ने कटुवाखोलामा निर्माणाधीन अवस्थामा रहेको पुल । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता

घोराही, मङ्सिर ३ गते । निर्माण व्यवसायीको लापर्बाहीले दाङको घोराहीमा करिब तीन वर्षदेखि पुल अलपत्र परेको छ ।  घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनिबगिया सडकखण्डको कटुवाखोला पुल विगत लामो समयदेखि बन्न सकेको छैन । डेढ वर्षभित्र पुल निर्माण सक्ने गरी २०७८ असार १४ गते करिब चार करोड १७ लाख २४ हजार रुपियाँमा महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार गत वर्षको पुसमा पुल निर्माणको काम सकिनुपर्ने भए पनि अहिलेसम्म पुलको पिल्लरको पाइलिङ फाउन्डेसनको करिब २५ प्रतिशत मात्रै काम भएको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनीष अर्यालले बताउनुभयो । पुल निर्माणमा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पट–पटक कामलाई अगाडि बढाउन आग्रह गर्दा पनि निर्माण व्यवसायीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । 

अर्यालले भन्नुभयो, “पुल निर्माणका लागि व्यवसायीलाई पटक पटक सचेत बनाउने काम गरेका छौँ तर निर्माण व्यवसायीको बेवास्ताका कारण ढिलाइ भएको छ’’ तर पछिल्लो समय पुल निर्माणको काम चालु आर्थिक वर्षभित्रै सक्ने गरी निर्माण व्यवसायी डिल्ली डाँगीले लिएको सडक पूर्वाधार कार्यालयले जनाएको छ ।  

पुरानो निर्माण व्यवसायीले पुल निर्माण समयमा सम्पन्न गर्न नसकेपछि नयाँ व्यवसायीलाई जिम्मा दिएको र नयाँ निर्माण व्यवसायीले कटुवाखोला पुलसँगै हापुरखोला र पातुखोला पुल गरी तीन वटा पुल चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी प्रतिबद्धता जनाएको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख अर्यालले बताउनुभयो । कार्यालय प्रमुख अर्यालका अनुसार तुलसीपुर उपमहानगरपालिका–१७ अन्तर्गत हापुरखोला र पत्रेखोलाको दोभानमा महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँ र तुलसीपुरकै पातुखोलामा सोही समयमा जलजला/सिद्धार्थ दर्शन/जय माँ स्वर्गद्वारी जेभी दाङसँग ठेक्का सम्झौता भए पनि पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । 

पुल निर्माणको काम सुरु भए पनि अहिले निर्माण कम्पनी नै पुल निर्माण गर्ने ठाउँमा नहुँदा पुल बन्ने वा नबन्नेमा आशङ्का उत्पन्न भएको घोराही उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामलौटन चौधरीले बताउनुभयो । वडाध्यक्ष चौधरीका अनुसार निर्माण व्यवसायीले विगत एक वर्षदेखि निर्माण स्थलमा नदेखिएको बताउनुभयो । 

समयमा पुल नबन्दा स्थानीयलाई हिँड्डुलसँगै विद्यार्थीलाई बर्सातको समयमा विद्यालय जान समस्या हुने गरेको भन्दै वडाध्यक्ष चौधरीले भन्नुभयो, “वडा नं. १७ अन्तर्गत घनिबगिया, चौघेरालगायतका अधिकांश विद्यार्थी पढ्न जाने गरेका छन् तर खोलामा पुल नहुँदा पानी परेको समयमा समस्या हुने गरेको छ ।”