• १० मंसिर २०८१, सोमबार

सिकलसेल उपचारका लागि वार्ड स्थापना

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, मंसिर २ गते । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ । 

आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिनुभयो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत कार्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना गर्नुभएको थियो । यस लगत्तै थारु बहुल क्षेत्र दाङको घोराहीमा सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो । 

मन्त्री पौडेलले एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउन सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो । यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेको प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार सुरु भएको हो । 

मन्त्रालयका पदाधिकारीले दिएको जानकारीअनुसार सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकोमा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति देवकोटाले जानकारी दिनुभयो ।

औषधी निःशुल्क उपलब्ध गराइने 

मन्त्री पौडेलले सिकलसेलको औषधीसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भइरहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधी नै उपलब्ध गराउने योजनाअन्तर्गत काम भइरहेको उहाँले बताउनुभएको थियो ।

हाल लाक्षणिक आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ । औषधी वितरण गर्ने सरकारको योजनालाई समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत औषधी निःशुल्क हुने बताइसक्नु भएको छ ।