• ७ मंसिर २०८१, शुक्रबार

गुल्मीमा दीर्घरोगीका बिरामी खोज्दै स्वास्थ्य कार्यालय

blog

कार्यक्रमको बारेमा जानकारी गराउनुहुँदै जनस्वास्थ्य अधिकृत पशुपति आचार्य । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, मङ्सिर १ गते । 
गुल्मीमा ४० वर्ष उमेर कटेका सुगर, उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरूको स्क्रीनिङ गर्न लागिएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यका अनुसार ४० वर्ष माथि उमेरका सुगर, उच्च रक्तचाप र मिर्गौलाका (दीर्घरोगी) बिरामीहरूको स्क्रीनिङ गर्न लागेको बताउनुभयो । सदरमुकाम तम्घासमा कार्यालयले आयोजना गरेको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा उक्त कुराको जानकारी गराएको हो । लक्षण नदेखिए पनि सुगर, उच्चरक्तचाप र मिर्गौलाका बिरामी भएको हुनसक्ने भएकाले रोग पत्ता लगाउनका लागि स्की्रनिङ गर्न लागेको आचार्यले बताउनुभयो ।

१२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र सरोकारवालाहरूको छलफल कार्यक्रममा लक्षण देखा नपरे पनि सुगर, उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरू भएको हुन सक्ने भएकाले बेलैमा खोज गरी औषधी उपचार गर्नुपर्ने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापाले बताउनुभयो ।

स्थानीय तहसँगको समन्वयमा जिल्ला भित्रका सबै दीर्घरोगीहरुको विवरण सङ्कलन गर्न सकेमा जिल्लाको वास्तविक अवस्थाको बारेमा जानकारी हुने भएकाले यसमा सहयोग गर्न स्थानीय तहलाई कार्यालयले आग्रह गरेको छ ।

जिल्लाभर ४० वर्ष माथि उमेरकाको स्वास्थ्य परीक्षण गरी विवरण लिनका लागि कार्यालयसँग पर्याप्त बजेट नभएकाले स्थानीय तहको समन्वय र सहकार्य विना उक्त विवरण लिन असम्भव भएको आचार्यले बताउनुभयो । 

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले पालिका भित्रका ४० वर्ष कटेका सुगर,उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरूको स्वास्थ्य परीक्षणका साथै ल्याब परीक्षण गरी विवरण लिनका लागि स्थानीय सरकारसँग छलफल गर्नुपर्ने बताउनुभयो । बजेटसङग जोडिएको विषय भएकाले स्थानीय सरकारले निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । यस्तै, मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले स्वास्थ्य कार्यालयसँग बजेट सीमित भएकाले पालिकाभरको विवरण सङ्कलन गर्नमा कठिन हुने बताउनुभयो । कार्यालयको बजेटले जिल्लाको जनसङ्ख्याको आधारमा २० प्रतिशत पनि काम गर्न नसकिने उहाँको तर्क छ ।

कार्यालयमा उक्त कार्यका लागि १० लाख बजेट रहेको आचार्यले बताउनुभयो । कार्यक्रममा सरोकारवालाहरूले स्थानीय सरकारले पनि बजेटको व्यवस्था गरेर जिल्लाभरको विवरण आउन सकेमा राम्रो हुने बताएका छन् ।