• ९ मंसिर २०८१, आइतबार

अन्नपूर्ण आरोहण मार्ग र आधार शिविरमा सरसफाइ

blog

अन्नपूर्ण आधार शिविर र पदमार्गमा फोहोर सङ्कलन गर्ने टोली । तस्बिर ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर १ गते । 
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र आरोहण मार्गमा स्थानीय युवाहरूले सरसफाइ गरेका छन् । दसैँ तिहारका समयमा पर्यटक आगमनमा वृद्धि भएसँगै पदमार्ग र आधार शिविरमा फोहोर बढेको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको हुमखोलादेखि सुरु हुने मौरिस हर्जोग पदमार्गका रूपमा परिचित आरोहण मार्ग र आधार शिविरमा अन्नपूर्ण गाउँपालिका-५ शिखको न्यु कान्छी वाराही युवा क्लब र वडा नम्बर ४ गाडपारको जनजागरण युवा क्लबमा आबद्ध युवाहरूको टोलीले पर्यटकले फालेको फोहोर सङ्कलन गरेका हुन । उनीहरूले दुई दिनसम्म आधार शिविरमा बसेर पर्यटकले फालेको फोहोर व्यवस्थापन गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।

‘‘हामी अन्नपूर्ण आधार शिविर र पदमार्गलाई सफा र सुन्दर बनाउन चाहन्छौँ । दसैँ तिहारको समयमा धेरै पर्यटकले भ्रमण गरेकाले फोहोर बढ्यो । पदमार्ग र आधार शिविरमा फोहोरको उचित व्यवस्थापन, सङ्कलन गर्ने स्थान र जनचेतनाको अभावले फोहोर बढ्न गएको छ । स्थानीय क्लबहरूलाई परिचालन गरेर सरसफाइ अभियान सञ्चालन गरेका छौँ,’’ उहाँले भन्नुभयो ।

कुहिने फोहोरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहोरलाई सङ्कलन गरी केही तल ल्याएर जलाएको सरसफाइ कार्यक्रमको नेतृत्व गर्नुभएका शिखका युवा सुरेन गुरुङले जानकारी दिनुभयो । गुरुङको अगुवाइमा कात्तिक २७ गते पुगेको टोलीले आधार शिविरमा दुई दिन लगाएर फोहोर सङ्कलन गरेको हो ।

मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा त्यहाँको बारेमा जानकारी दिने सूचना बोर्ड समेत राखिएको उहाँले बताउनुभयो । टोलीले अन्नपूर्ण आधार शिविरको सार्वजनिक शौचालयमा ढोका पनि जोडेको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका ७ घराम्दी भर भई हाल बेलायतमा बसोबास गर्नुहुने धनकुमार पाइजाले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । यसैगरी, घोडेपानीको सुपर भ्यु होटलका सञ्चालक मिना पुनले १० हजार रुपियाँ सहयोग गर्नुभएको गुरुङले बताउनुभयो । 

‘‘पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहोर भएको थियो । यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहोरलाई खाडलमा गाड्ने र नहुहिने फोहोर बोकेर तल झारेका छौँ,’’ गुरुङले भन्नुभयो । उहाँका अनुसार रेखा मेमोरियल ट्रस्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको छ ।

मौरिस हर्जोग पदमार्गका अभियन्ता गुरुङका अनुसार चालु शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । यो याममा हालसम्मकै धेरै सङ्ख्यामा पर्यटक अन्नपूर्ण आधार शिविर पुगेको उहाँले बताउनुभयो ।

बेनी, काठमाडौँ, पोखरा, बागलुङ, चितवनलगायत सहरबाट युवायुवतीहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा आएका छन् । तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ व्यवस्थापन गर्नुपर्दछ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।