• ६ असार २०८२, शुक्रबार

ढुण्डीराज शास्त्रीको योगदान स्मरणीय : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको समवेदना सन्देश स्वर्गीय ढुण्डीराज शास्त्रीको परिवारलाई हस्तान्तरण गरिँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, असार ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाउनुभएको छ । 

राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साँच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका ढुण्डीराजले पञ्चायतको कालरात्रीमा गुल्मी, पाल्पा र अर्घाखाँचीलागयतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउने खेलेको भूमिका सदाका लागि स्मरणीय रहेको बताउनुभएको छ । 

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा भन्नुभएको छ, ‘‘ढुण्डीराजले विसं २०१७ साल पुस १ गतेको ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउँदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ ।’’

उहाँले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर एउटै मन्त्रीपरिषदमा रहेर काम  गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रुपमा ढुण्डीराजको भूमिका मेरो स्मृतिमा अझै ताजै रहेको उल्लेख गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार ढुण्डीराजको परिवारलाई कौशलटार पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले हस्तान्तरण गर्नुभयो ।