अर्जुन कार्की
काठे खोला (बागलुङ), असार ६ गते । जिल्लाको काठेखोला गाउँपालिकाले स्थानीय रूपमा उत्पादन गरिने मदिरा (रक्सी)लाई ब्रान्डिङ र लेवलिङ गर्ने नीति लिएको छ । शुक्रबार गाउँपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले कोदोको अर्गानिक लोकल रक्सीलाई ब्रान्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्न प्रक्रिया अगाडि बढाउने नीति सार्वजनिक गर्नुभएको हो
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न तरकारी मिनिकिट अनुदान कार्यक्रम, चिया, अलैंची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रूपमा विकास गर्दै कृषि पकेट पूर्वाधार कार्यक्रम सज्चालन, कृषकको उत्पादानलाई सङ्कलन र बजारीकरणका लागि काठेखोला कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण र सञ्चालन गर्ने जनाएको छ ।
गाउँपालिकाले बाँदर व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने भएको छ । अध्यक्ष थापाले सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गरी बाँझो तथा सामुदायिक वन जङ्गलहरूमा फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमूल जस्ता फलफूल तथा खनिजजन्य खाद्यान्नहरू लगाएर बाँदर व्यवस्थापन गर्ने नीति सार्वजनिक गर्नुभएको छ ।
यस्तै गाउँपालिकाभित्र उत्पादन हुने नाङ्लो, डाली, मकैको खाेस्टाबाट निर्माण हुने फूलजन्य सामग्रीहरूको बजारीकरणमा साथ दिन ‘काठेखोला कोसेली घर’ सङ्कलन गरिने भएको छ । गाउँपालिकाभित्र रहेका खानीहरू उत्खनन तथा अनुसन्धान गर्न सङ्घ तथा प्रदेश सरकारसँग समन्वय तथा पहल गर्ने र गाउँपालिकलो रैथाने बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई (क्यान्डी), जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र लेवलिङ गरी बजार व्यवस्थापन गर्ने भएको छ ।
यस्तै गाउँपालिकाभित्र रहेको पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यापर्यटन रूपको विकास गरी पूर्वाधार निर्माण गरिने र नीजि क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले नीति ल्याउनुभएको छ । यस्तै आम नागरिकहरूमा शैक्षिक जागरणका नवीनतम कार्यक्रम सञ्चालन गर्न सबैको लागि शिक्षा सञ्चालनमा जोड दिने, गाउँपालिकाभित्र बन्ने नयाँ संरचनाहरूमा बाल तथा अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिने र विद्यालयहरूको खाजामा जङ्कफुडरहित बनाउन सबै विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्तै उपाध्यक्षसँग सघन र नियमित अनुगमन कार्यक्रम राखिएको हो ।
गाउँपालिकाका सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने । स्वास्थ्यतर्फ १२० विपन्न घर परिवारलाई निःशुल्क बिमा लगायतका कार्यक्रम जोडिएको हो ।
गाउँपालिकाले प्रतिभा पहिचान कार्यक्रम र सृजनशील शुक्रबार पनि विद्यालयमा सञ्चालन हुने, लोप हुन लागेका गीतसङ्गीतको संरक्षण, प्रवर्धन र उजागरमा जोड दिने योजना छ । यस्तै लक्षित समुदायहरूको सीप क्षमता विकासका लागि विगतदेखि सञ्चालनमा आएको अध्यक्षसँग सीप विकास कार्यक्रमलाई निरन्तरता दिने, दलित समुदायहरूको सशक्तीकरण र आर्थिक आयआर्जन वृद्धि गर्न दलित सशक्तीकरण अभियान सञ्चालन गरिने भएको छ ।
पूर्वाधारतर्फ गाउँपालिकाले हरेक वर्ष गाउँपालिका भवनदेखि वडा कार्यालयसम्म जोड्ने सडकलाई गौरवको योजनामा समावेश गर्दै स्तराेन्नति गर्ने योजना यस वर्ष वडा नम्बर ३ धम्जा र वडा नं. ७ रेशेको वडा कार्यालयसम्म जोड्ने सडक स्तराेन्नति गरिने भएको छ । यस्तै गाउँपालिका र वडा कार्यालयसँगको साझेदारीमा वडा कार्यालयले सङ्कलन गरेको राजस्व रकम बराबरको साझेदारीमा प्रत्येक वडाको सडक ढलान, ग्रावेलिङ, ग्याविन लगायतका काममा जोड दिइने र सडक निर्माण गर्दा पर्यावरणीय दृष्टिकोणले वातावरणमैत्री सडक संरचना निर्माण गर्न पहल गरिने र यस वर्ष ५० प्रतिशत पूर्वाधार संरचनाको निर्माण कार्य गर्ने नीति अवलम्बन गरिने नीति लिइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।