• ७ मंसिर २०८१, शुक्रबार

धनगढीमा मनाइयो शैलेश्वरी जाँत

blog

शैलेश्वरी जाँतको अवसरमा राति देउडा खेलिँदै । तस्बिर सौजन्यः वीरेन्द्र सिंह

अविनाश चौधरी

धनगढी, कात्तिक ३० । कैलालीको धनगढीमा आज शैलेश्वरी जाँत (जात्रा) मेला मनाइएको छ । धनगढी उपमहानगरपालिका –९ गौरीपुर (सालघाडी) मा रहेको शैलेश्वरी मन्दिरमा जाँत मनाइएको हो । 

यस मन्दिरमा २०४२ सालदेखि शैलेश्वरी अनुष्ठान केन्द्रले जाँत मनाउँदै आएको छ । डोटीको शैलेश्वरी मन्दिरको शाखाको रुपमा रहेको यो मन्दिरमा डोटीबाट कैलाली बसाइँ सरेर आएकाहरु जाँतको आयोजना गरेर रमाउने गरेका छन् । 

धेरैजसो व्यक्ति जाँत अवलोकनका लागि डोटी पुग्न नसकेपछि अखण्ड दीप प्रज्ज्वलन गरेर डोटीस्थित शैलेश्वरी मन्दिरका पुजारीले यहाँको शैलेश्वरी मन्दिरमा जाँत आयोजनाका लागि अधिकार प्रदान गरेको केन्द्रका सहसचिव वीरेन्द्र सिंहले बताउनुभयो ।

सिंहका अनुसार जाँतको पहिलो दिन बिहीबार भगवतीको पूजाका साथै रातभरि देउडा खेल्ने कार्य भएको थियो । शुक्रबार भगवतीको जात्रा देखाउनुका साथै धामी काम्ने र देउरो नचाउने कार्य भएको जनाइएको छ । सुदूरपश्चिमको विभिन्न जिल्लामा अहिले जाँतको रौनक चलिरहेको छ ।