• ७ मंसिर २०८१, शुक्रबार

पत्रकारिता केन्द्रीय विभागमा ‘मिडिया टक सेरिज’

blog

पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागले आयोजना गरेको मिडिया टक सेरिजमा धारणा राख्नुहुँदै वरिष्ठ पत्रकार कनकमणि दिक्षित । तस्विरः कुमारसिंह विष्ट

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ३० गते । पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागले मिडिया टक सेरिज २०२४ सुरु गरेको छ । विभाग अन्तर्गत अध्ययनरत दर्शनाचार्य दोस्रो सेमेस्टरका विद्यार्थीले विभागको सहकार्यमा सो सेरिज सुरु गरेका हुन् । 

शुक्रबारदेखि सुरु गरिएको पहिलो सेरिजमा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले वर्तमान नेपाली पत्रकारिताको प्रबृत्ति, अवसर र चुनौतीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राख्नुभयो । सो अवसरमा उहाँले वि.सं. २००७ साल पछाडि अहिलेसम्म नेपाली पत्रकारिताको प्रबृत्तिमा धेरै परिवर्तन आइसकेको बताउनुभयो । 

खासगरी २०४६ को आन्दोलन सफलतापछि २०४७ को संविधानमा पहिलो पटक अभिव्यक्ति र स्वतन्त्रताको अधिकार सुनिश्चित भएपछि नेपाल स्वतन्त्र र खुला समाजमा रुपान्तरण हुने अवसर पाएको उहाँले धारणा राख्नुभयो । अहिलेको मिडिया प्रबृत्ति मुख्यतः अवसर र चुनौतीले भरिएको भए पनि यसलाई अवसरमा रुपान्तरण गर्न मिडियाकर्मी नै सक्रिय हुनुपर्ने उहाँको भनाइ छ । 

स्वतन्त्र र खुला समाजको मामिलामा नेपाल दक्षिण एसियामा सबैभन्दा प्रगतिशील भएको चर्चा गर्दै वरिष्ठ पत्रकार दिक्षितले भन्नुभयो, “पत्रकारिता गर्न पत्रकारिता विषय नै लिएर उच्च अध्ययन गर्नुपर्छ भन्ने होइन, तर पत्रकारहरुले आफूलाई पत्रकारिताको आधारभूत ज्ञान र क्षमतामा तिखार्न भने अनिवार्य हुन्छ ।” पत्रकारले समाचार र विचार लेख्न विविध विषयमा ज्ञान आर्जन गर्न आवश्यक रहेकाले पत्रकार अध्ययनशील हुनुको विकल्प नभएको उहाँको भनाइ छ । 

न्यूज रुपमा काम गर्दा सबैभन्दा बढी जिम्मेवार डेस्क सम्पादक हुने भए पनि उसको पहिचान हुन नसकेको उहाँले बताउनुभयो । समाचारदाताको बाइलाइन आउने, सम्पादकको प्रिन्ट लाइनमा नाम आउने भए पनि डेस्क सम्पादकको नाम कहिं नआउँदा डेस्क सम्पादकहरु ओझेलमा पर्नेगरेको उहाँको बुझाइ छ । यद्यपि समाचारलाई सिर्जनशील, पठनीय र वजनदार बनाउने काम डेस्क सम्पादकले गर्नेगरेको उहाँले चर्चा गर्नुभयो ।


नेपाल आफैमा विविधतायुक्त भए पनि नेपाली प्रेसमा विविधताको चित्र आउन नसकेको चर्चा गर्नुहुँदै पत्रकार दिक्षितले नेपालको विविधताअनुरुप नेपाली प्रेसमा सबै जाति समुदाय र वर्गको प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । त्यसो हुनसक्दा एकताको भावना विकास हुने र समावेशीता सही अर्थमा कायम हुने बताउनुभयो । नेपाली सञ्चार माध्यमले त्यसमा ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

विचार निर्माण गर्ने मुख्य जिम्मेवारी सञ्चार माध्यम, नागरिक समाजका अगुवा र शैक्षिक व्यक्तित्वहरुको भए पनि सो अनुसार काम हुन नसकिरहेको उहाँले चर्चा गर्नुभयो । यी तीनै क्षेत्र स्वतन्त्र, जनता र देशप्रति जवाफदेही तथा आफ्नो जिम्मेवारीलाई सन्तुलित र स्वार्थरहित बनाउन नसकेको उहाँको बुझाइ छ । नेपाली पत्रकारिता तुलनात्मक रुपमा प्रगतिशील भए पनि अझै सन्तुलित र जिम्मेवार बन्न आवश्यक रहेको उहाँको सुझाव छ । 

पत्रकारले मुलुकको भौगोलिक, ऐतिहासिक ज्ञान पनि राख्न आवश्यक रहेको सुझाव दिंदै वरिष्ठ पत्रकार दिक्षितले भन्नुभयो, “पत्रकारिता गरेर नाम कमाउन सकिन्छ तर पत्रकारिता गरेर काठमाडौंजस्तो शहरमा जग्गा र घर जोड्न सकिंदैन । नेपाली प्रेसले प्रकाशन तथा प्रशारण गर्ने विषयमा पाठकको विश्वास कति छ भन्ने कुरा हामीले अनुभूति गरेका छौं ।”

हरेक साताको शुक्रबार गरिने मिडिया टक सेरिजमा वरिष्ठ पत्रकारहरुलाई अतिथि वक्ताको रुपमा ल्याएर कार्यक्रम गर्ने योजना रहेको पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले बताउनुभयो । सो अवसरमा प्राध्यापक डा. रघु मैनाली, दर्शनाचार्यमा अध्ययनरत दोस्रो सेमेस्टरका विद्यार्थीहरुको सहभागिता थियो । मिडिया टक सिरिजमा आएका विचारलाई लिपिवद्ध गरी विभागले पुस्तक प्रकाशन गर्ने योजना रहेको बताएको छ ।