• १ माघ २०८१, मङ्गलबार

कोरला नाकामा मनाइयो वार्षिकोत्सव

blog

कोरला नाकामा आयोजित वार्षिकोत्सव कार्यक्रम ।

अमृतप्रसाद पौडेल

म्याग्दी, कात्तिक २९ गते । हिमालपारिको जिल्ला मुस्ताङको कोरला हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुख्य कोरला नाका खुलेको वर्ष दिन पुगेको उपलक्षमा चिनियाँ पक्षले वार्षिकोत्सव मनाएको छ । 

नाका सुरु भएको दिनको खुसीयाली मनाउन औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल–चीन नाका खुलेको प्रथम वार्षिकोत्सवको उपलक्षमा चीन पक्षले कोरलानाकाको आफ्नो भूमिमा खुसीयालीस्वरुप औपचारिक कार्यक्रम आयोजना गरेको थियो ।

विगतको वर्षमा पनि नाका खुल्ने र बन्द हुने गर्दैआएको भए पनि नाकामा संरचना निर्माण गरेर २०८० कात्तिक २७ (नोभेम्बर १३) देखि नियमित नाका सञ्चालन हुन थालेको थियो । नाका सञ्चालन भएको एक वर्ष पुगेको उपलक्ष्यमा मुस्ताङ तर्फका गाउँपालिका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिलाई आमन्त्रण गरेर चीनले आफ्नो भूमिमा नाका खुलेको वार्षिकोत्सव मनाएको मुस्ताङको सदरमुकाममा जोमसोमको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । 

गत वर्ष कार्तिक २७ (नोभेम्बर १३) देखि नाका खुलेको थियो । सोही दिन अर्थात् यस वर्ष कार्तिक २८ (नोभेम्बर १३) कै दिन पारेर अन्तरदेशीय व्यापारिक नाकामा नाका खुलेको वर्षगाँठ मनाएको लालचनको भनाइ छ ।

विश्वभर फैलिएको कोभिड –१९ भन्दा अघि हरेक वर्ष चीनले कोरलामा अन्तरदेशीय व्यापार मेला गर्दै आएको थियो । कोभिडले गर्दा मेला रोकिएको र त्यसपछि भने संरचना निर्माण गरेर नाका नियमित खुला गरेसँगै व्यापार मेला भने भएको छैन । 

चीन पक्षका स्थानीय जनप्रतिनिधि, सुरक्षा अधिकारी लगायतको उपस्थितिमा नेपालका प्रतिनिधिलाई समेत सहभागी गराएर चीन पक्षले गत वर्ष कार्तिक २७ गते नाका खुला गरेको थियो ।

नाका खुलेको एक वर्ष पुगेको उपलक्ष्यमा चीन पक्षले आयोजना गरेको कार्यक्रममा मुस्ताङबाट गाउँपालिका प्रमुखसहितको टोली सहभागी भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । चीनले आयोजना गरेको कार्यक्रममा चीन पक्षले विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत भएको उहाँले जानकारी दिनुभयो ।

नेपालको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङलगायत मुस्ताङका पाँचवटा सबै पालिकाका प्रमुखहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक, उपल्लो मुस्ताङका दुई वटा गाउँपालिका लोमन्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका उपाध्यक्ष तथा १० वटै वडाका अध्यक्ष सहितको टोली सहभागी भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । उक्त कार्यक्रमपछि केही छलफल समेत भएको उहाँको भनाइ छ । नाकामा सहजताका लागि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

नाका खुलेपछि चिनियाँ सामग्रीहरू नेपाल भित्रन सहज भए पनि नेपाली उत्पादनलाई चिन निर्यात गर्न भने चिनियाँ पक्षबाट सहजता नभएको स्थानीयको आरोप छ । चिनियाँ अधिकारीले नेपाली सामग्री निर्यातमा अवरोध गर्ने तर चिनियाँ सामग्री नेपाल आयात गर्दा भने केही पनि समस्या नहुने बताइएको छ ।