• ८ मंसिर २०८१, शनिबार

सूचनाको हक कार्यान्वयनमा

blog

तुलसीपुर समाचारदाता 

तुलसीपुर, कात्तिक २९ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले बुधबार तुलसीपुरमा आयोजना गरेको सूचनाको हक कार्यान्वयनमा स्थानीय तहको भूमिकाको महत्व विषयक कार्यक्रममा उहाँले सार्वजनिक निकायबाट समयमै सूचना उपलब्ध हुन सके समाजमा गलत सूचना प्रवाह नहुने बताउनुभयो । 

प्रमुख आयुक्त महेन्द्रमान गुरुङले राष्ट्रिय सूचना आयोगले सूचना माग गर्दा सूचना उपलब्ध गराउन आलटाल गर्ने ४५ जनालाई आयोगका तर्फबाट कारबाही गरिएको बताउनुभयो । उहाँले आयोगले प्रत्येक सामुदायिक विद्यालय, सहकारी संस्था, वित्तीय संस्थामा समेत अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन गरिएको बताउनुभयो । प्रमुख आयुक्त गुरुङले संविधानबमोजिम समयमै सूचना उपलब्ध हुन नसके आयोगमा उजुरी दिन आग्रह गर्नुभयो । उहाँले पालिकाका तर्फबाट यस क्षेत्रमा रहेका कार्यालय, सङ्घ संस्थामा सूचना अधिकारी व्यवस्था गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका तर्फबाट तीन तीन महिनामा पालिकामा भएका गतिविधि सार्वजनिक गर्दै आएको बताउनुभयो । उहाँले सूचना माग भए पालिकाका तर्फबाट उपलब्ध गराउँदै आएको बताउनुभयो ।