• ८ मंसिर २०८१, शनिबार

उमा कुङफुमा राई निर्विरोध

blog

उमा कुङफु सङ्घका निर्वाचित अध्यक्ष संजितकुमार राई ।

काठमाडौँ, कात्तिक २८ गते । नेपाल उमा कुङफु सङ्घको पाँचौँ चुनावी साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ ।

यसअघि राई केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ सङ्घको संस्थापक सदस्य पनि हुनुहुन्छ । पूर्व खेलाडी राईले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य पदक जित्नुभएको थियो । उहाँले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । 

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई संस्करणमा उहाँले दुई स्वर्ण जित्नुभएको थियो । भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएका राईले विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायक रुपमा पनि काम गर्नुभएको थियो । 

साधारण सभाबाट उपाध्यक्षमा रमेश महर्जन, सिद्धार्थ लामा तामाङ, मुन्नी सुवेदी तामाङ, राजदिस नेम्कुल, भूपेन्द्र गुरुङ र अनिमेशलाल श्रेष्ठ चुनिनुभएको छ । 

यस्तै कमल मगरले महासचिव, कृष्णकुमार मगरले सचिव र सूर्य तामाङले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको छ । सदस्यहरूमा गुना गुरुङ, रत्न थापा राणा, रोजी श्रेष्ठ, शेरबहादुर गुरुङ र सुजन कक्षपति चयन हुनुभयो ।

साधारण सभामा नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स सङ्घका अध्यक्ष सुदिप पण्डित क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।