• २५ मंसिर २०८१, मङ्गलबार

आज मधुमेह दिवस

‘जीवनशैली नसुधारे १८ देखि २० प्रतिशतमा मधुमेह’

blog

काठमाडौँ, कात्तिक २९ गते । पछिल्लो समय मधुमेह महामारीको रूपमा देखा पर्दै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा ४२ करोड २० लाख मानिसमा मधुमेह छ । जसमध्ये अधिकांश निम्न र मध्य आय भएका देशमा बसोबास गर्ने मानिस छन् । प्रत्येक वर्ष १५ लाख मानिसको मधुमेहका कारण मृत्यु हुने डब्लुएचओले जनाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा तीन लाख १२ हजार ३४२ जनामा मधुमेह रोग पुष्टि भएको थियो । 

सहरी क्षेत्रमा ११ देखि १३ प्रतिशत र ग्रामीण क्षेत्रमा तीनदेखि चार प्रतिशत जनसङ्ख्यामा मधुमेह भएको अनुमान गरिएको छ । मधुमेहको जोखिममा २० देखि २५ प्रतिशत जनसङ्ख्या  छ । जोखिम समूहले रोगलाई नियन्त्रण नगर्ने हो भने पाँचदेखि १० वर्षमा १८ देखि २० प्रतिशत जनसङ्ख्यामा मधुमेह हुने प्रक्षेपण गरिएको छ । मधुमेह रोग विशेषज्ञ डा. सन्तोष शाक्यले खराब जीवनशैली, मोटोपन, वंशाणुगत, खानपान, तनावले गर्दा मधुमेह रोग बढ्दै गएको बताउनुहुन्छ ।   

मधुमेह भनेको के हो ?

डा. शाक्यका अनुसार रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी हुने प्रक्रियालाई मधुमेह भनिन्छ । शरीरको प्यानक्रियाजबाट एक प्रकारको हर्मोन (इन्सुलिन) उत्पादन हुन्छ । जसले खानामा हुने चिनीलाई टुक्राउने काम गर्छ । इन्सुलिनको उत्पादनमा हुने कमी वा इन्सुलिनको उपयोगमा आउने कमीको कारणबाट मधुमेह हुने गर्छ । मधुमेह टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन् ।

डा. शाक्यका अनुसार टाइप वान मधुमेह वंशाणुगत र टाइप टु मधुमेह खराब जीवनशैलीका कारणले हुन्छ । उहाँ भन्नुहुन्छ, “टाइप टु मधुमेह इन्सुलिनको उत्पादनमा कमी आउने र भइरहेको इन्सुलिनले राम्रोसँग काम नगर्ने हुन्छ । टाइप वान मधुमेहमा इन्सुलिन बनाउने प्यानक्रियाज छिटो छिटो टुक्रिने गर्छ ।” बढी तिर्खा लाग्नु, मुख सुख्खा हुने, पटक-पटक पिसाब लाग्नु र पिसाबको मात्रा धेरै हुनु, दुब्लाउँदै जाने, भोक बढी लाग्नु, घाउ खटिरा निको नहुनु, शरीर चिलाउने, हातखुट्टा झमझमाउने, दुब्लाउँदै जाने, कमजोरी हुने, बेहोस हुनु मधुमेहका लक्षण हुन् ।

रगतमा चिनीको मात्रा कति हुनुपर्छ ?

डा. शाक्यले रगतमा चिनीको मात्रा जाँच गरेर मधुमेह बढे नबढेको पत्ता लगाउन सकिने जानकारी दिनुभयो । उहाँका अनुसार रगतमा चिनीको मात्रा खाना नखाई १०० भन्दा कम र खाना खाएर १४० भन्दा कम छ भने सामान्य मान्न सकिन्छ । चिनीको मात्रा खाना नखाई १२६ भन्दा बढी र खाना खाएर १८० भन्दा माथि भएमा मधुमेह बढेको मान्न सकिने उहाँ बताउनुहुन्छ । 

मधुमेह बढ्नुका कारण  

३२ वर्ष उमेरसम्मका युवा तथा बालबालिकामा टाइप वान मधुमेह बढी देखिने गर्छ । मधुमेह भएकामध्ये पाँच प्रतिशतलाई टाइप वान मधुमेह हुने विभिन्न अध्ययनले देखाएको छ । पछिल्ला वर्षमा साना-साना बालबालिकामा मोटोपन,  प्रशोधित खाने कुराले, खराब जीवनशैलीका कारण स-साना बालबालिकालाई टाइप टु मधुमेह बढ्दै गएको डा. शाक्यको भनाइ छ । उहाँका अनुसार टाइप टु मधुमेह ३२ वर्ष माथिकालाई हुने गर्छ । मधुमेह भएकामध्ये ९५ प्रतिशतलाई टाइप टु मधुमेह हुन्छ । जीवनशैली परिवर्तन गरियो भने टाइप टु मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । 

गर्भावस्थामा हुने मधुमेह  

शारीरिक रूपले निष्क्रिय रहने, खराब जीवनशैली, उच्च रक्तचाप र अन्य मुटुसम्बन्धी समस्या, वंशाणुगत कारणले गर्भवती अवस्थामा मधुमेह हुने उहाँले जानकारी दिनुभयो ।  धेरैलाई गर्भावस्थामा टाइप वान मधुमेह हुने गर्छ । यस्तो बेलामा भएको मधुमेह बच्चा जन्मिसकेपछि ५० प्रतिशतमा आफै हराएर जान्छ । गर्भावस्थामा मधुमेह भएमा भविष्यमा मधुमेह हुने जोखिम बढ्नुका साथै जन्मने बच्चामा पनि मधुमेह हुने जोखिम बढ्ने गर्छ ।  

हेलचेक्र्याइँ गर्दा के हुन्छ ?

मधुमेह भएकालाई उच्च रक्तचाप कोलेस्ट्रोल, युरिक एसिड, मोटोपना, थाइरोइडजस्ता रोग लाग्ने जोखिम बढ्ने डा. शाक्य बताउनुहुन्छ । ५० प्रतिशतमा मधुमेह भइसकेपछि उच्च रक्तचाप बढ्छ भने ५० प्रतिशतमा उच्च रक्तचाप भएर मधुमेह हुने गर्छ । 

मधुमेहका बिरामीले रोगलाई नियन्त्रण नगरेमा रक्तनलीमा समस्या उत्पन्न भई मुटु, मस्तिष्क घात, अन्धोपन, मिर्गौलाले काम नगर्ने लगायत अन्य गम्भीर स्वास्थ्य समस्या निम्तिने उहाँ बताउनुहुन्छ । मोटोपना भएकालाई मधुमेहका जोखिममा भएकालाई हृदयाघात भएर मृत्यु हुने सम्भावना बढी हुने डा. शाक्यको भनाइ छ ।  

उपचार 

टाइप वान र टाइप टु मधुमेह उपचार विधि फरक-फरक हुने गर्छ । टाइप वान मधुमेह भएकाहरूलाई जीवनभर नै सुईको माध्यमबाट इन्सुलिन दिने गरिन्छ । टाइप टु मधुमेहमा औषधी खाएर, जीवनशैली परिवर्तन गरेर मोटोपन घटाएर सन्तुलन भोजन खाएर रोगलाई नियन्त्रण गर्न सकिने डा. शाक्य बताउनुहुन्छ । चिकित्सकको सल्लाहमा मधुमेहको औषधी खान उहाँको सुझाव छ ।

कस्तो खानेकुरा खाने 

मधुमेह भएकाले कार्बोहाइड्रेटको मात्रा कम भएका प्राकृतिक खाना समय-समयमा तनाव नलिई खान डा. शाक्यको सुझाव छ । उहाँका अनुसार प्राकृतिक खानाले मधुमेह कम बनाउन मद्दत गर्छ । प्रशोधित खाने कुराले मधुमेह जोखिम बढाउने हुँदा यस्ता खानेकुरा नखान उहाँको आग्रह छ । 

उहाँका अनुसार मधुमेहका रोगीले दुई तीन घण्टाको अन्तरालमा खाइरहनु पर्छ । खानाको  थालीमा १० प्रतिशत कार्बोहाइड्रेट, ३० प्रतिशत भेजिटेरियन प्रोटिन, १० प्रतिशत फ्याट, १० प्रतिशत सागसब्जी र फलफूल समावेश गर्न डा. शाक्यले आग्रह गर्नुभयो । 

मधुमेह कसरी नियन्त्रण गर्ने ?

मधुमेहको नियमित परीक्षण गर्ने,  चिकित्सकको सल्लाहमा नियमित औषधी खाने, हरियो सागसब्जी र फलफूल प्रशस्त मात्रामा खाने । चिल्लो गुलियो र नुनिलो कम खाने, शारीरिक व्यायाम गर्ने,  जीवनशैली परिवर्तन गरेमा टाइप टु मधुमेह हुनबाट बच्न सकिने उहाँ बताउनुहुन्छ । डा. शाक्यका अनुसार शारीरिक रूपमा सक्रिय व्यक्तिमा टाइप टु मधुमेह हुने जोखिम ३० देखि ४० प्रतिशतले कम हुने अध्ययनले देखाएको छ । शारीरिक क्रियाकलापले रगतमा चिनीको मात्रा, तौल, रक्तचाप नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी समस्यालाई रोकथाम गर्न मद्दत पुग्छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।