• ११ पुस २०८१, बिहिबार

राम्दीमा स्नान गर्ने भक्तजनको भिड

blog

एकादशीमा राम्दीस्थित कालीगण्डकी नदीमा स्नान गर्न आएका भक्तजन । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, कात्तिक २७ गते । हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तजनको भिड लागेको छ । कालीगण्डकी नदीमा स्नान गर्न सोमबार बिहानैदेखि भक्तजनको गण्डकी नदी छेउमा भक्तजनको भिड लागेको हो ।

कात्तिके ठूलो एकादशीका नामले प्रसिद्ध हरिबोधनी एकादशीको अवसरमा बिहान तुलसीको पूजा गरी विवाह गरिदिने प्रचलन छ । यस्तै, कालीगण्डकी नदीमा स्नान गर्ने र दिनभर उपवास बस्ने प्रचलन रही आएको छ । 

हरिबोधनी एकादशीका दिनमा राम्दीमा तोरण तार्ने, पितृलाई पिण्ड दिने प्रचलन छ । नदीको एक किनारबाट अर्को किनारसम्म बाबियोको डोरीको तोरण बनाएर एकादशीको दिनमा नदी तारेमा परिवारमा सुख शान्ति हुने र पितृहरूको वैकुण्ठमा बास हुने धार्मिक विश्वास रहेको बगनासकाली–५, का वडाध्यक्ष ओमप्रकाश गैरेले बताउनुभयो। 

केही वर्ष अघिसम्म बोटे समुदायका व्यक्तिको सहायतामा नदीमा तोरण तारिने भए पनि पछिल्लो समयमा पुलबाटै नदी वारपार गराएर तोरण तार्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । 

एकादशीका अवसरमा राम्दी नदी वरपर कृषिजन्य वस्तुहरू सुन्तला, सखरखण्ड, केरा, डाला, सुपालगायतका स्थानीय सामग्रीको बिक्री पनि बढेको छ। मेलामा व्यापार हुने भएकाले पाल्पा, गुल्मी, स्याङ्जा, नवलपरासीलगायतका स्थानबाट घरेलु उत्पादनका सामग्री बिक्रीका लागि मानिसहरू आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

पहिलाे दिनमा गङ्गा स्नान गर्न नपुगेका भक्तजनहरू माहिली र कान्छी एकादशीका दिन राम्दीमा आउने गर्दछन् । राम्दी नजिकै रहेको सिद्धगुफा मन्दिरमा पूजा गर्ने र मन्दिरको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ ।