• ७ मंसिर २०८१, शुक्रबार

सुखड–भजनी सडकखण्ड अझै कालोपत्रे हुन सकेन

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक २७ गते । कैलालीको सुखड–भजनी सडकखण्डका लागि दुई चरणमा टेन्डर भएर सडक चौडा तथा कालोपत्रे गर्ने काम भइसकेको भए पनि बिच खण्डमा पर्ने चार किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।

पहिलो चरणमा भजनी नगरपालिकाको भजनी बजारदेखि सुखड खण्डको बिजुलियासम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६/७७ बाट भजनीबाट निर्माण सुरु भई काम सकिइसकेको छ । त्यसै गरी दोस्रो चरणमा आव २०७८/७९ मा सुरु भएको घोडाघोडी नगरपालिका सुखडदेखि कीर्तिपुर जङ्गलसम्म सडक कालोपत्रे निर्माण कार्य पनि पूरा भइसकेको छ । तर कीर्तिपुर जङ्गलदेखि बिजुलिया गाउँसम्मको चार किलोमिटर सडकखण्ड हालसम्म कालोपत्रे हुन नसक्दा सो सडकमा यात्रा गर्ने यात्रुले सडक खाल्टाखुल्टीका कारण यात्रा सकस हुनुका साथै दुर्घटना हुने गरेको बताएका छन् ।

सो सडकखण्ड भएर सधैँ यात्रा गर्ने सुखडका पुष्पराज जैशीले भजनी क्षेत्र र सुखड क्षेत्रतर्फ कालोपत्रे हुने बिचमा सडक कालोपत्रे नहुनाले कच्ची सडकमा यात्रा गर्दा निक्कै दुःख हुने गरेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको सहयोगमा दुई चरणमा सडक स्तरोन्नतिसहित कालोपत्रे भएको जनाइएको छ ।

भजनी नगरपालिका–४ का वडाध्यक्ष जन्ताराम चौधरीले कालोपत्रे हुन नसकेको सडकमा वर्षायाममा वडाको बजेटले सामान्य ग्राभेल, खाल्टाखुल्टी भर्ने काम गरेको बताउनुभयो । उहाँले कालोपत्रेका लागि प्रदेश सरकारसँग पटक पटक आग्रह गरेको समेत जनाउनुभयो । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले कालोपत्रे हुन छुटेको सडक कालोपत्रेका लागि सङ्घीय सरकारले छ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिँदै चालु आवमा कालोपत्रे हुने बताउनुभयो ।