• ७ मंसिर २०८१, शुक्रबार

बयानका लागि लामिछानेलाई रुपन्देही ल्याइँदै

blog

फाइल तस्विर

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक २६ गते । सहकारी ठगी र सङ्गठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइने भएको छ । 

सहकारीको बचत अपचलन आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । पछिल्लो पटक आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उहाँलाई रुपन्देही ल्याउने तयारी गरेको हो ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उहाँलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।

रुपन्देही प्रहरीका अनुसार कास्की प्रहरीसँगको समन्वयमा मंगलबार बिहानको जहाजबाट भैरहवा ल्याउने तयारी भइरहेको छ । “आइतबार दिउँसो ल्याउने तयारी थियो, तर फ्लाइट सरेका कारण मंगलबार बिहान ल्याउने तयारी भएको छ” रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले भन्नुभयो ।

मंगलबार रुपन्देही ल्याएर लामिछानेको बयान सुरु गरिने राठौरले जानकारी दिनुभयो । प्रहरीले लामिछानेलाई रुपन्देही ल्याउँदा हुन सक्ने आन्दोलनका विषयमा समेत तयारी गरेको जनाएको छ । उहाँलाई रुपन्देही ल्याउँदा सहकारी पीडित र रास्वपा कार्यकर्ताको सम्भावित प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत शनिबार जिल्ला सुरक्षा संयन्त्रबिचमा अनौपचारिक छलफल भएको थियो ।

प्रहरी स्रोतका अनुसार दुवै पक्षले गर्न सक्ने प्रदर्शनका विषयमा छलफल गरी सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निषेधित क्षेत्र तोक्ने र व्यापक प्रहरी परिचालन गर्ने तयारी रुपन्देही प्रशासनको छ ।

रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट दुई करोड रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपियाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेको नाममा बुटवल उपमहानगरपालिका –९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा दुई करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

दुई करोडमध्ये सेवा शुल्क कटाएर लामिछानेले एक करोड ९६ लाख ऋण लगेको पाइएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै, गोर्खा मिडियाकै उपाध्यक्ष छविलाल बन्जाडेको नाममा पनि दुई करोड ५० लाख रुपियाँ ऋण लिएको देखिएको छ ।