• १८ पुस २०८१, बिहिबार

मुसहर परिवारको विद्युत महसुल वडाले तिर्ने

blog

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ को वडा कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, कात्तिक २६ गते । धनुषाको धनुषाधाम नगरपालिका-७ ले आफ्नो वडामा भएका सम्पूर्ण मुसहर परिवारको विद्युत् महसुल तिरिदिने भएको छ । सामाजिक तथा आर्थिक रुपले पिछडिएका मुसहर परिवारको घर बत्ती विद्युत् महसुल वडाले तिरिदिने भएको हो । 

धनुषाधाम नगरपालिका–७, किसानपुरका वडाध्यक्ष हेमनारायण यादवले किसानको सिँचाइ विद्युत् महसुलसँगै वडाभित्र बसोबास गरिरहेका सम्पूर्ण मुसहर परिवारको घर बत्ती विद्युत् महसुल वडा कार्यालयबाट तिरिदिने बताउनुभयो । उहाँले पुरानो बक्यौता रकमसमेत तिरिदिने जानकारी दिनुभयो । मुसहर परिवारको विद्युत् महसुल तिर्न बजेट विनियोजन गरिएको देशको यो पहिलो वडा कार्यालय भएको दाबी वडाध्यक्ष यादवले गर्नुभयो ।  

उहाँले भन्नुभयो, "यहाँका अधिकांश मुसहर समुदाय विपन्न छन् । धेरैजसोको आफ्नो जग्गा छैन् । ऐलानी र अरुको जमिनमा घर बनाएर बसेका छन् । वडाबाट प्रदान गरिने सुविधा उहाँहरुसम्म पुग्नुपर्छ भनेर यो व्यवस्था मिलाएको हुँ ।" वडाको भगवानपुर, सरस्वती टोल, मर्टेवा र किसानपुर गरी ५० भन्दा बढी मुसहर समुदायको घर रहेको वडाध्यक्ष यादवले बताउनुभयो । 

उहाँका अनुसार चालू आर्थिक वर्षमा सिँचाइ विद्युतका लागि ११ लाख रुपियाँ र मुसहर परिवारको विद्युत महसुल तिर्न दुई लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । आउँदो आर्थिक वर्षबाट वडाभित्रका मुसहर समुदायलगायत सम्पूर्ण दलित तथा विपन्न परिवारको घर बत्तीको विद्युत् महसुल वडा कार्यालयबाट तिर्ने व्यवस्था मिलाउने उहाँको भनाइ छ । 

सिँचाइ विद्युत् महसुल तिर्दा जग्गाजमिन हुनेलाई मात्र फाइदा पुग्छ त्यसैले यो सुविधा यहाँका सबै जनताले उपभोग गर्न पाउन् भनेर मुसहर तथा विपन्न परिवारको विद्युत् महसुल तिरिदिने योजना बनाएको वडाध्यक्ष यादवले बताउनुभयो । 

निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने क्रममा किसान तथा मुसहर समुदायलाई निःशुल्क बिजुलीको व्यवस्था गरेको बताउँदै उहाँले भन्नुभयो, यहाँ ९५ प्रतिशत किसान र खेतीयोग्य जमिन छन् । । त्यसैले पहिलो प्राथमिकता कृषि क्षेत्रको विकासलाई दिएका छौँ । यस्तो कार्यले किसानलाई प्रत्यक्ष लाभ पुगेको छ ।” यस लगायत गरिबी उत्थान, स्वास्थ्य, शिक्षा, बाटो, खानेपानी र भौतिक पूर्वाधार निर्माणलगायत विकासको कामलाई सँगसँगै बढाइएको उहाँले बताउनुभयो । 

वडा कार्यालयले विद्युत् महसुल तिरिदिने भएपछि स्थानीय किसान तथा मुसहर समुदाय खुसी देखिएका छन् । स्थानीयबासी परिक्षण सदाले यसबाट किसान र विपन्नलाई धेरै राहत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, विद्युत् महसुल तिर्न नसकेर यहाँका धेरै किसान तथा मुसहर घरपरिवार बिजुली काटिने समस्या भोग्दै आएका थिए । अब विद्युत् महसुल वडाले तिरिदिने भए पछि ढुक्कले विद्युत् प्रयोग गर्न पाउँछन् ।