• ११ पुस २०८१, बिहिबार

उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन एकताबद्ध हुन माओवादी केन्द्रको निर्देशन

blog

प्रवक्ता अग्निप्रसाद सापकोटा नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौँ, कात्तिक २६ गते । नेकपा (माओवादी केन्द्र) ले मङ्सिर १६ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिन निर्देशन दिएको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्देशन दिएको हो । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको पनि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि तलबाट आएका सबै सिफारिसहरूलाई अनुमोदन गरेको छ । निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन एकताबद्ध भएर पहलकदमी लिनुपर्छ भन्ने अपिल गरेको छ । उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाएका छौँ ।’’

उहाँले उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको जानकारी दिनुभयो । प्रवक्ता सापकोटाले मङ्सिर मसान्तसम्म पालिका सम्मेलन गरिसक्ने र साथसाथै वृहत्, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मङ्सिर मसान्तसम्म पालिका सम्मेलन र त्यसका साथसाथै कात्तिकको १० गते पालिकास्तरसम्म गर्ने भनेका थियौँ । अब पालिकाको सम्मेलन पनि र खबरदारी सभा पनि एकैसाथ लैजाने र वृहत्, वृहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने छ ।’’ प्रवक्ता सापकोटाले पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय समेत गरेको छ ।