• २२ मंसिर २०८१, शनिबार

दिपेश र सुमित्रालाई लब्रेकुटी-शिलौती फाल्गुनन्द म्याराथनको उपाधि

blog

फिदिममा आयोजित ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुल्ला हाफ म्याराथन’ प्रतियोगितामा महिला तर्फका विजेतालाई पुरस्कार वितरण गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल

फिदिम, कात्तिक २६ गते । पर्यटकीय स्थल लब्रेकुटीमा एथलेटिक्स सङ्घ पाँचथरले आयोजना गरेको ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुल्ला हाफ म्याराथन’ को उपाधि पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ सुमित्राकुमारी चौधरीले जित्नुभएको छ ।

विजेतामध्ये दिपेश नेपाल आर्मी र सुमित्रा नेपाल प्रहरीका धावक हुनुहुन्छ ।

म्याराथन नेपालका १६ औं विभूति तथा किरॉत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा पारेर आयोजना गरिएको हो । २१ किलोमिटर दूरीको हाफ म्याराथनमा पुरुषतर्फ प्रथम भएका दिपेशले १ घण्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित २१ किलोमिटर दूरी पार गर्नुभएको थियो।

प्रतियोगितामा पुरुष तर्फ प्रतियोगितामा पाँचथरका ओसन राई र ताप्लेजुङका भिया लिम्बू क्रमशः दोस्रो र तेस्रो स्थान हात पार्न सफल हुनुभयो । उहाँ मध्ये ओसनले १ घण्टा १९ मिनेट ५० सेकेण्ड र भियाले १ घण्टा २० मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको आयोजक एथलेटिक्स सङ्घ पाँचथरले जनाएको छ ।

यस्तै महिला तर्फको प्रतियोगितामा प्रथम हुनुभएकी सुमित्राले २४ मिनेटमा निर्धारित ५ किलोमिटर दूरी पार गर्नुभएको थियो । प्रतियोगितामा पुष्पा लिम्बूले २४ मिनेट ३३ सेकेण्ड र तेस्रो भएकी जुलि राईले २४ मिनेट ४० सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो ।

प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो भएका खेलाडीले क्रमशः ३०,२० र १० हजार नगदसहित ट्रफी,पदक र प्रमाण पत्र प्रदान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्कार ट्रफी र पदक प्रदान गर्नुभयो ।

प्रतियोगिताका धावकलाई किरॉत धर्म गुरु तथा नेपालका १६ औं विभूति फाल्गुनन्द लिङ्देनको तपोभूमि लब्रेकुटीदेखि कान्छी दोकान, पौवाभञ्ज्याङ, शिलौती हुँदै पुनः लब्रेकुटीसम्मको २१ किलोमिटर महिलाका लागि लब्रेकुटीदेखि कान्छी दोकान हुँदै पुनः लब्रेकुटीसम्मको ५ किलोमिटर दूरी निर्धारण गरिएको आयोजक एथलेटिक्स सङ्घका अध्यक्ष पूर्णहाङ तुम्बापोले बताउनुभयो ।