• २५ मंसिर २०८१, मङ्गलबार

नेपाली चलचित्रप्रति दर्शकको मोह

blog

शालिग्राम नेपाल 

चितवन, कात्तिक २६ गते । भारतीय चलचित्रको बोलवाला रहेकै बेला नेपाली चलचित्रले पनि भारतीय चलचित्रलाई माथ खुवाउने गरी आक्रामक व्यापार गरेका छन् । हिन्दी चलचित्र जिगरा, सिङ्घम–३ र भुलभुलैया–३ कै बिच नेपाली चलचित्र छक्का पञ्जा ५, १२ गाउँ र पूर्णबहादुरको सारङ्गीले यतिबेला काठमाडौँ उपत्यकामा मात्र होइन देशभरि उल्लेखनीय व्यापार गरेका छन् ।  

नेपाली चलचित्रप्रति दर्शकको अपार माया चितवनमा पनि देखिएको छ । जिल्लामा रहेका छ वटा चलचित्र हलमा शनिबार मात्रै ३१ सो पूर्णबहादुरको सारङ्गीले पाएको सञ्चालकले जानकारी दिएका छन् । पछिल्लो समय सामाजिक कथामा निर्माण भएको चलचित्र पूर्णबहादुरको सारङ्गीले आक्रामक व्यापार गरेको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिनुभयो । यसअगाडि नेपाल चलचित्र हेर्न आउनेको सङ्ख्या धेरै हुने गरे पनि यसरी एकैदिन एउटै चलचित्र भवनमा धेरै सो चलाउनुपर्ने अवस्था नआएको उहाँले बताउनुभयो । चितवनमा चार वटा क्युएफएक्स र दुई वटा साधारण हल छन् । ती सबै हलमा दुई दिनपछिसम्मलाई ‘बुक’ भइसकेको सञ्चालकले जानकारी दिएका छन् । अधिकारीले शनिबार मात्रै चितवनको हलले ३० लाख रुपियाँको व्यापार गर्न सफल भएको जानकारी दिनुभयो । 

दसैँको समयमा चलचित्र १२ गाउँ र छक्का पञ्जाले दर्शकको मन जित्न सफल भयो भने तिहारयता पूर्णबहादुरको सारङ्गीले दर्शकको मन जितिरहेको छ । चितवनको पुरानोमध्येको एक इन्द्रदेव चलचित्र मन्दिरका व्यवस्थापक हरि रेग्मीले बर्सौंपछि नेपाली चलचित्र लगातार ‘हाउस फुल’ भएको प्रतिक्रिया दिनुभयो । ‘अहिले चलिरहेको पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न आएका चार हजार पाँच सयभन्दा बढी दर्शक टिकट नपाएर फर्किएका छन्,” उहाँले भन्नुभयो, “टिकट व्यवस्थापन गर्नै कठिन भइरहेको छ ।” इन्द्रदेव हलमा अहिले दैनिक पाँच सो सञ्चालन भइरहेका छन् । ८३२ सिट क्षमता भएको यस हलमा सबै सोमा पूर्णबहादुरको सारङ्गी प्रदर्शन भइरहेको छ । विगतका वर्षमा दसैँतिहारमा पनि हाउस फुल नहुने हलहरूमा यस पटक तीन÷चार दिनअघिदेखि नै टिकट बुकिङ गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 

क्युएफएक्स हलमा हलका व्यवस्थापक विकास पोखरेलले दैनिक नौ सो सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।  क्युएफएक्समा बिहानदेखि रातिसम्म नौ सो सञ्चालन हुँदा पनि दर्शकको माग पूरा गर्न नसकिएको भन्दै उहाँले सोमबारसम्मका लागि बुक भइसकेको बताउनुभयो । यो चलचित्र भवनमा ५३३ सिट क्षमता रहेको छ । भारतीय चलचित्रभन्दा नेपाली हेर्न आउनेको सङ्ख्या वृद्धि भएपछि भारतीय चलचित्रको सो घटाएको उहाँले बताउनुभयो ।  

क्युएफएक्स सिजी हलका व्यवस्थापक प्रविन कार्कीले धेरै दर्शक टिकट नपाएर फर्किएको बताउनुभयो । उहाँले दसैँमा हाउस फुल रहेको हल तिहारका एक/दुई दिन खाली भए पनि अहिले झन् भिड बढेको बताउनुभयो । कतिपय दर्शकले रातकै भए पनि सो थपिदिन आग्रह गरेको भन्दै उहाँले अहिले दैनिक नौ सो सञ्चालनमा रहेको जानकारी दिनुभयो । मङ्गलबारसम्म पूर्णबहादुरको सारङ्गी चलचित्रको टिकट बुक भएकाले आफू पनि अचम्ममा परेको उहाँले बताउनुभयो । 

एउटा पर्दा मात्र रहेको पूर्वी चितवनको पर्साको म्याङ्गो चलचित्र भवनका सञ्चालक शिवप्रसाद उप्रेतीले बिहानदेखि रातिसम्म सो सञ्चालनमा रहेको बताउनुभयो । यति धेरै चलचित्र हेर्न आउनेको सङ्ख्या आफूले यसअगाडि नपाएको बताउँदै तीन दिनपछिसम्म टिकट बुक भएको बताउनुभयो ।