• ९ मंसिर २०८१, आइतबार

एक करोड बढी विद्युत महसुल अनुदान

blog

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक २५ गते । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय स्याङ्जाले लिफ्ट खानेपानी आयोजनाको एक करोड छ लाख २७ हजार १६२ रुपियाँ महसुल अनुदान दिएको छ । स्याङ्जा र कास्कीका खानेपानी योजना हेर्ने यस कार्यालयले १२१ योजनाको उक्त रकम अनुदान दिएको हो । 

स्याङ्जाका ९९ योजनाको ६९ लाख ७९ हजार ७९१ रुपियाँ र कास्कीका २२ योजनाको ३६ लाख ४७ हजार ३७१ रुपियाँ अनुदान दिएको हो । प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत् महसुलमा अनुदान दिने नीति ल्याएसँगै गत आर्थिक वर्ष २०८०÷८१ मा सो रकम अनुदान दिइएको हो । 

यस प्रदेशका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्‍याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदान ग्राही छनोट गरी अनुदान दिइएको हो । 

स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिकरुपमा २५ हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीलाई विद्युत् महसुलको शत प्रतिशत अनुदान दिइएको हो ।

मासिक २५ हजारदेखि ४० हजारसम्मको महसुलमा ७५ प्रतिशत र मासिक रुपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीले कूल विद्युत् महसुलको ५० प्रतिशत र मासिक रुपमा ६० हजारदेखि ८० हजारसम्म विद्युत् खपत गर्ने अनुदान ग्राहीले कूल विद्युत् महसुलको २५ प्रतिशत अनुदान प्राप्त गरेको तिमिल्सिनाले बताउनुभयो । 

यस्तै, मासिक रुपमा ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो ।

स्याङ्जा र कास्कीमा सञ्चालनमा रहेका खानेपानी योजनाले अनुदान रकमका लागि आवेदन दिएकोमा छनौट भएका योजनाले मात्रै विद्युत् महसुलमा अनुदान पाएका हुन्।