• ७ पुस २०८१, आइतबार

‘सहकारीका दोषीहरूलाई कानुनअनुसार कारबाही हुन्छ’

blog

सभापति शेरबहादुर देउवालाई धनगढी विमानस्थलमा स्वागत गर्दै नेता कार्यकर्ता ।

कृतबहादुर विष्ट

फूलवारी (कैलाली), कात्तिक २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारी अपचलनका दोषीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ । 

विभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउनुभएका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सहकारी अपचलनमा दोषी देखिएका जुनसुकैलाई अदालती प्रक्रियाअनुसार कारबाही हुने बताउनुभएको हो । 

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको घटनाबारे पत्रकारको जिज्ञासामा सभापति देउवाले भन्नुभयो, “हाम्रो पार्टीका  पनि धेरै नेता, कार्यकर्ताहरू समातिएका छन् । हामीले कहिल्यै हो–हल्ला गरेनौँ, सबैले कानुनको पालना गर्नु पर्दछ, अदालतको फैसलालाई सम्मान गर्न सक्नु पर्दछ ।”


उहाँले कांग्रेस र एमाले मिलेर बनाइएको गठबन्धनको सरकार दीर्घकालीन रूपमा  अगाडि बढ्ने विश्वास  व्यक्त गर्नुभयो  । उहाँले भन्नुभयो, “कसैले शङ्का गर्नु पर्दैन, यो सरकार २०८४ सम्म निरन्तर जान्छ ।”  

आज धनगढी पुग्नुभएका सभापति देउवालाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश मन्त्रालयका मन्त्रीहरू र पार्टीका नेता तथा कार्यकर्ताले  धनगढी विमानस्थलमा स्वागत गर्नुभएको थियो ।