• ८ मंसिर २०८१, शनिबार

दुबई पठाइ दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

blog

काठमाडौँ, कात्तिक २४ गते । वैदेशिक रोजगारमा दुबई पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धादिङ गंगाजमुना गाउँपालिका–४ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सञ्जीव गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गुरुङलाई तार्केश्वर नगरपालिका–१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो ।

गुरुङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

यसैगरी, क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराई दिन्छु भनी ठगी गरेको अभियोगमा पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुली रहेको प्रहरीले जनाएको छ ।

गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाइदिने भनी सम्पर्क गराई आठ लाख १७ हजार रुपियाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।